काठमाडौं । जल तथा मौसम विज्ञान विभाग का अनुसार हाल सक्रिय वर्षा प्रणाली विस्तारै पूर्वतर्फ सरिरहेको छ। यसको प्रभावले बागमती र मधेस प्रदेशका धेरै स्थानमा पानी पर्न सुरु भएको छ भने अन्य प्रदेशमा पनि मौसम बदली छ।
कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा अहिले नै हुरीबतास, मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। मौसमविद् सञ्जिव अधिकारी ले वर्षा गराउने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गएको र आगामी घण्टामा थप क्षेत्र प्रभावित हुन सक्ने बताए।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी क्षेत्रमा बनेको न्यून चापीय अवस्थाको संयुक्त असर देखिएको छ। दक्षिणी भू–भाग हुँदै फैलिएको न्यून चापीय रेखाले पनि मौसमलाई थप सक्रिय बनाएको विभागले जनाएको छ।
कस्तो रहनेछ अवस्था?
आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी र हिमाली भू–भागका केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। केही स्थानमा भारी वर्षा पनि हुन सक्छ।
हुरीबतासको गति करिब ४० किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्ने अनुमान गरिएको छ भने यसको प्रभाव केही ठाउँमा छोटो समयका लागि तीव्र देखिन सक्छ।
राति र आगामी दिन
राति मौसम केही शान्त भए पनि बदली कायम रहनेछ र पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षा हुन सक्छ।
मङ्गलबार र बुधबार पनि कोशीदेखि लुम्बिनीसम्मका प्रदेशमा बदलीसहित वर्षा जारी रहने संकेत देखिएको छ। विशेषगरी पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङको सम्भावना रहनेछ भने तराई क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ।
सावधानी अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभाग ले हुरीबतास, चट्याङ र सम्भावित भारी वर्षाका कारण हुन सक्ने जोखिमबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।



