बुटवल। रुपन्देहीको बुटवल मा प्रहरीले ठूलो परिमाणमा हुक्का सम्बन्धी सामग्री बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–११ कालिकानगर स्थित एक गोदाममा छापा मारेको थियो।
छापाका क्रममा ३५ वर्षीय पिङ्कु जयसवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनले भाडामा लिएको गोदाममा हुक्का तथा त्यससँग सम्बन्धित सामग्रीहरू भण्डारण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार उक्त गोदामबाट करिब ४३ लाख रुपैयाँ बराबरका विभिन्न सामग्री बरामद गरिएको छ। बरामद वस्तुहरूमा हुक्का भेप, कोइला, फ्लेवर, हुक्का सेट, बेस, पाइप, चिलिम लगायतका सामग्री उल्लेख्य मात्रामा रहेका छन्।
पक्राउ परेका जयसवाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।



