बुटवल। रुपन्देहीको बुटवलमा गर्भपतन गराउने क्रममा पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको प्रकरणमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सतिस रुपाखेतीलाई निलम्बन गरिएको छ ।
घटनापछि गठित नेपाल मेडिकल काउन्सिल को छानबिन समितिले उपचारमा लापरवाही देखिएको निष्कर्ष निकाल्दै डा. रुपाखेतीलाई निलम्बन गर्न सिफारिस गरेको थियो। उक्त सिफारिसका आधारमा काउन्सिलको बैठकले उनलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको समितिका संयोजक डा. सम्राट पराजुली ले जानकारी दिए।
त्यस्तै, उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीमाथि पनि कारबाहीका लागि सिफारिस गरिएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत छानबिन प्रतिवेदन सार्वजनिक गर्दै काउन्सिलले इन्दुलेखा क्लिनिक र जोनल फार्मेसी लाई तत्काल सञ्चालनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने जनाएको छ ।
छानबिनका क्रममा गीता पाण्डेलाई गर्भपतनका लागि औषधि उपलब्ध गराउने जोनल फार्मेसी तथा अन्तिम अवस्थामा उपचारमा संलग्न इन्दुलेखा क्लिनिकले सेवा सञ्चालनका लागि आवश्यक स्वीकृति नलिएको पाइएको छ ।
गर्भपतनको क्रममा आमासहित गर्भको समेत मृत्यु भएको थियो। घटनामा संलग्न दुई चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।



