बुटवल । सामाजिक युवा अभियानता चिरन क्षेत्रीले आफ्नो जन्मदिनलाई भिन्न र सन्देशमूलक ढंगले मनाउँदै भजन–किर्तन कार्यक्रम आयोजना गरेका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, सङ्खनगर बनपाटिका चोकमा आयोजित उक्त कार्यक्रममा परिवारजन तथा स्थानीयबासीको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा भजन, आरती तथा नाचगानमार्फत सहभागीहरूले खुसी साटासाट गरेका थिए। पछिल्लो समय नयाँ पुस्तामा भजन–किर्तनप्रति चासो घट्दै गएको अवस्थामा क्षेत्रीको यो पहललाई समाजमा सकारात्मक सन्देश दिने प्रयासका रूपमा हेरिएको छ।
जन्मदिनलाई तडकभडक र अनावश्यक खर्चमा मनाउने प्रवृत्ति बढिरहेको सन्दर्भमा आफूले भने लोक संस्कृति जोगाउँदै सादगीपूर्ण रूपमा मनाउन पाउँदा खुसी लागेको क्षेत्रीले बताए।
उनले विगतका वर्षहरूमा पनि आफ्नो जन्मदिनलाई सन्देशमूलक गतिविधिमार्फत मनाउँदै आएको जानकारी दिए।




