बुटवल गर्भपतन मृत्यु प्रकरण: दुई चिकित्सकसहित पाँच जना पक्राउ

by समतल अनलाइन
226Shares

बुटवल । बुटवलमा गर्भपतन गराउने क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएपछि प्रहरीले दुई चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार घटनामा संलग्न तीन क्लिनिकका सञ्चालक र दुई चिकित्सकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

प्रहरी नियन्त्रणमा पर्नेमा खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री, इन्दुलेखा स्वास्थ्य संस्था प्रा.लि.का सञ्चालक डा. सतिस रुपाखेती, इन्दुलेखा क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसी सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती मगर रहेका छन्।

मृतक पाण्डे करिब १२ हप्ताकी गर्भवती थिइन्। वैशाख ५ गते श्रीमानसँग बुटवलको इँटाभट्टीस्थित खत्री नर्सिङ होम पुगेकी उनलाई त्यहाँबाट जोनल फार्मेसी हुँदै इन्दुलेखा क्लिनिक पठाइएको थियो। सोही क्रममा गर्भपतन गराउँदा उनको मृत्यु भएको बताइएको छ।
घटनापछि आक्रोशित आफन्तले खत्री मेडिकल हल, इन्दुलेखा क्लिनिक र जोनल फार्मेसीमा तालाबन्दी गरेका छन्। दोषीमाथि कडा कारबाहीको माग गर्दै उनीहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चौराहा क्षेत्रमा केही समय सडक अवरुद्ध समेत गरेका थिए।

मृतकका श्रीमान् प्रकाश पाण्डेले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले सन्ध्या बस्नेत, निलम घर्ती मगर र खगेन्द्र पाण्डेलाई सोमबार तथा डा. डीबी खत्री र डा. सतिस रुपाखेतीलाई मंगलबार पक्राउ गरेको जनाएको छ।

हाल मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You may also like

This will close in 0 seconds