काठमाडौं।पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिमका ठूला विकास आयोजनाको काम प्रभावित हुन थालेको छ। निर्माण व्यवसायीहरूले मौज्दात इन्धन प्रयोग गरेर काम अघि बढाए पनि बढ्दो लागत र अभावका कारण आयोजना सञ्चालनमा कठिनाइ भएको बताएका छन्।
सेती राजमार्गको दक्षिण खण्डको काम बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख रामकुमार देवले जानकारी दिएका छन्। उनका अनुसार डोटी, अछाम र कैलालीमा विभिन्न प्याकेजमार्फत सडक निर्माण कार्य भइरहेको छ। इन्धनको मूल्य बढेपछि निर्माण व्यवसायीहरूले काम सञ्चालन गर्न नसकिने भन्दै कार्यालयमा निवेदन दिन थालेका छन्।
सुदूरपश्चिमकै प्रमुख आयोजना मानिएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनामा पनि यसको प्रभाव देखिएको छ। कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म कोरिडोर निर्माणका लागि १३ वटा प्याकेजमा ठेक्का सम्झौता भए पनि पछिल्लो समय निर्माण व्यवसायीहरूले लागत वृद्धि भएको जनाउँदै काम सुस्त बनाएका छन्।
महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाका अनुसार इन्धन, बिटुमिनलगायत निर्माण सामग्रीको मूल्यवृद्धिले कोरिडोर निर्माण कार्य प्रभावित बनेको छ।
४२५ किलोमिटर लम्बाइको उक्त कोरिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेलधुरामा ५६ किलोमिटर, बैतडीमा १४४ किलोमिटर र दार्चुलामा १२० किलोमिटर सडक खण्ड पर्दछ। दार्चुलामा ७९ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको जनाइएको छ।
निर्माण व्यवसायीहरूले लागतअनुसार मूल्य समायोजन नभएसम्म काम अघि बढाउन कठिन हुने बताएका छन्। उनीहरूले मूल्यवृद्धि समायोजनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।



