नारायणगढ–बुटवल सडकको ढिलाइप्रति गृहमन्त्री गुरुङको कडा असन्तुष्टि, ठेकेदारलाई १५ दिनको प्रतिबद्धता

by समतल अनलाइन
93Shares

बुटवल । गृहमन्त्री सुधन गुरुङले लामो समयदेखि अलपत्र अवस्थामा रहेको नारायणगढ–बुटवल सडक खण्डको निर्माण ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै चिनियाँ ठेक्का कम्पनीको ध्यानाकर्षण गराउनुभएको छ। सडक खण्डको स्थलगत अनुगमनका क्रममा उहाँले निर्माण कार्यमा भइरहेको सुस्त गतिप्रति कडा प्रतिक्रिया दिनुभएको हो।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सडक अलपत्र पर्दा यात्रुहरूले दैनिक रूपमा सास्ती भोग्नुपरेको, आवागमन प्रभावित भएको तथा दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढेको बताउनुभयो। उहाँले यस्तो अवस्था चाँडो अन्त्य गर्न ठेक्का कम्पनीले जिम्मेवारीपूर्वक, प्रभावकारी र तीव्र गतिमा निर्माण कार्य अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्देशन दिँदै ढिलासुस्ती कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै निर्माण कार्यमा कुनै पनि लापरबाही नगर्न सचेत गराउनुभयो।

यसैबीच, ठेक्का कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्माणलाई थप तीव्रता दिई तोकिएको समयसीमाभित्र काम सक्ने आश्वासन उनीहरूले दिएका छन्।

You may also like