हर्कराज राईले खुलाए आफ्नो सम्पत्ति: आमाको नाममा भिरालो पाखो, बैंकमा २-४ लाख

by समतल अनलाइन
102Shares

काठमाडौँ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो सम्पत्ति विवरणका विषयमा चासो व्यक्त भएपछि त्यसबारे स्पष्ट पारेका छन्। उनले आफ्नो नाममा खासै सम्पत्ति नरहेको र छिट्टै औपचारिक रूपमा विवरण सार्वजनिक गर्ने बताएका छन्।

अध्यक्ष राईले आफ्नो पैतृक सम्पत्ति खोटाङको केपिलासगढी गाउँपालिका–२, चोखाने गाउँमा रहेको जानकारी दिएका छन्। तर उक्त सम्पत्ति अझै पनि आमाको नाममा रहेको र दाजु–दिदीले अंश नलिएको उनले स्पष्ट पारेका छन्।

“मेरो बाउबाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा छ। त्यहाँ पाखा, खरबारी, बाँस र उत्तिस घारीसहितको केही खेतबारी छ,” उनले भने, “गाउँको जग्गा भिरालो पाखामा छ, त्यसमा पनि दाजु दिदीहरूले अंश लिनुभएको छैन। मेरो नाममा केही छैन।”

वैदेशिक रोजगारीमा रहँदा केही सुन र नगद जोडेको उल्लेख गर्दै उनले थपे, “वैदेशिक रोजगारीबाट जोडेको ४–५ तोला सुन होला र बैंक ब्यालेन्स २–४ लाख रुपैयाँ होला। म यो सबै सार्वजनिक गर्नेछु।”

अध्यक्ष राईले आफ्नो व्यक्तिगत नाममा कुनै ठूलो सम्पत्ति नरहेको दाबी गर्दै पारदर्शी रूपमा जनतासामु विवरण ल्याउने प्रतिबद्धता जनाएका हुन्।

You may also like