तिलोत्तमाका दुई स्थानबाट अवैध अनलाइन सट्टेबाजीमा संलग्न २० जना पक्राउ

by समतल अनलाइन
51Shares

भैरहवा । रुपन्देही जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेको अवैध अनलाइन सट्टेबाजी (जुवा)मा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिकाका दुई स्थानमा छापा मारेर उनीहरूलाई विभिन्न सामग्रीसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चैत १९ गते तिलोत्तमा नगरपालिका–७ बाट ९ जना भारतीय नागरिक पक्राउ परेका थिए।

पक्राउ पर्नेहरू भारतका उत्तर प्रदेश, बिहार र पश्चिम बंगालका विभिन्न जिल्लाका नागरिक रहेका छन्। उनीहरूको साथबाट ३ थान ल्यापटप, २० थान मोबाइल फोन र ५ थान हिसाब राख्ने रजिस्टर बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी चैत २७ गते तिलोत्तमा नगरपालिका–१५, कोटिहवाबाट थप ११ जनालाई पक्राउ गरिएको डीएसपी चन्दले बताए। पक्राउ पर्नेहरूमा भारतका विभिन्न स्थानका नागरिकसँगै रुपन्देहीका एक पुरुष, एक महिला तथा सुर्खेत घर भई हाल रुपन्देही बस्दै आएकी एक महिला समेत रहेका छन्।

उनीहरूको साथबाट २३ बन्डल भारतीय बैंकका चेकबुक, २५ थान एटीएम कार्ड, ९१ हजार ७२५ रुपैयाँ नगद, १ थान भारतीय पासपोर्ट, ३० थान आधार कार्ड, ६ थान ल्यापटप, २१ थान मोबाइल, ३ थान पेन ड्राइभ, ३ थान स्ट्याम्प छाप र १ थान राउटर बरामद गरिएको छ।

प्रहरीका अनुसार चैत १९ गते पक्राउ परेकामा उत्तर प्रदेश, बिहार र पश्चिम बंगालका ९ जना भारतीय नागरिक रहेका छन्। यस्तै चैत २७ गते कोटिहवाबाट पक्राउ परेका ११ जनामा भारतका विभिन्न स्थानका नागरिक, रुपन्देहीका अक्लेश कुमार यादव र सुर्खेत घर भई हाल तिलोत्तमामा बस्दै आएकी सिमा राना रहेका छन्।

प्रहरी नायब उपरीक्षक चन्दले पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्। साथै अनलाइन सट्टेबाजीमा संलग्न अन्य व्यक्तिको खोजी तथा थप अनुसन्धान जारी रहेको उनले बताए।

You may also like