काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरकानुनी रुपमा १३ दिनसम्म नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् ।
विहिबार हाजिरी जमानीमा रिहा भएपछि सामाजिक सञ्जालमा लेख्दै ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः रिहा भएको बताएका हुन् ।
उनले भनेका छन्- ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’
प्रहरी नियन्त्रणमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति ओलीले कृतज्ञता व्यक्त गरेका छन् । उनले आफ्नो रिहाईको माग गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरको उपचार खर्च राज्यले बेहोर्नु पर्ने, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने बताएका छन् ।
साथै प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने ओलीले जानकारी गराएका छन् ।





