काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन् ।
लेखक नेपाल प्रहरीको नम्बर-२ सशस्त्र प्रहरी गणमा रहेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले लेखकलाई बोलाएको समयमा हाजिर हुने गरी पत्नी यशोदा लेखकको जिम्मा लगाएको हो ।
प्रहरीले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्नी राधिका शाक्यको जिम्मा लगाउदै रिहा गरेको थियो ।
गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ओली र लेखकलाई म्याद थप नगर्न परमादेश आदेश जारी गरेका थिए । सर्वोच्चले अहिले थप गरेको म्याद भित्र नै अनुसन्धान टुंगाउन र अनुसन्धान नसकिएमा ओली र लेखकलाई रिहा गरेर अनुसन्धान जारी राख्न आदेश दिएको थियो ।
गत भदौ २३ र २४ को आन्दोलनको जाँचबुझ गर्न गठित कार्की आयोगको सिफारिसमा प्रहरीले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो ।





