काठमाडौँ । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेल आगामी वैशाख १२ देखि २२ गते (अप्रिल २५ देखि मे ५) सम्म काठमाडौंमा सञ्चालन हुने भएका छन्। त्यसलगत्तै वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म अर्को शृङ्खला पनि आयोजना गरिने तालिका सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ क्यानले मंगलबार नयाँ मिति घोषणा गर्दै स्थगित रहेको नेपाल, यूएई र ओमान सम्मिलित शृङ्खला वैशाखमा सञ्चालन हुने जानकारी दिएको हो। तालिकाअनुसार नेपाल र यूएईबीच पहिलो खेल वैशाख १२ गते हुनेछ भने दोस्रो खेल वैशाख १६ गते ओमानसँग हुनेछ।
एक टोलीसँग दुई–दुई खेल खेल्ने तालिकाअनुसार नेपालले तेस्रो खेल वैशाख १८ गते यूएईसँग खेल्नेछ भने चौथो खेल वैशाख २२ गते ओमानसँग हुनेछ।
यसअघि नेपाल, ओमान र यूएईबीचको शृङ्खला गत फागुन २६ देखि चैत ६ गतेसम्म कीर्तिपुरमा सञ्चालन हुने तय थियो। तर मध्यपूर्व क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै क्यानले विश्वकप लिग–२ का खेल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो।
पहिलो शृङ्खला सम्पन्न भएलगत्तै अर्को सातादेखि नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित अर्को लिग–२ शृङ्खला सुरु हुनेछ। उक्त तालिकाअनुसार नेपालले वैशाख २९ गते स्कटल्यान्डसँग, जेठ २ गते अमेरिकासँग खेल्नेछ। त्यसपछि जेठ ४ गते स्कटल्यान्ड र जेठ ८ गते अन्तिम खेल अमेरिकासँग खेल्ने कार्यक्रम तय गरिएको छ।





