काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपाल-भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन र रास्वपाका सभापति रवि लामिछानेसँग टेलिफोन संवाद गरी बधाई ज्ञापन गरेको फेसबुकमार्फत गराएको जानकारीमा बालेनले मंगलबार कमेन्ट गर्दै प्रतिक्रिया दिएका हुन् ।
साथै बालेनले भारतले लगातार दुई पटक टी-२० विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई बधाई ज्ञापन समेत गरेका छन् ।
बालेनले भनेका छन्- ‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री नरेन्द्र मोदीज्यु । नेपाल-भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु । साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’
यस अघि सोमबार मोदीले फेसबुकमा बालेन शाह र रवि लामिछानेसँग टेलिफोन संवाद भएको जानकारी निर्वाचनमा पाएको सफलताका लागि बधाई दिएको उल्लेख गरेका थिए । साथै उनले नयाँ बन्ने सरकारका लागि शुभकामना दिँदै भारतीय सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि प्रतिबद्धता पनि जनाएका थिए ।


