बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नम्बर १ को युवा भेला बिहीबार सम्पन्न भएको छ । बिहीबार तिलोत्तमा करैया वन समितिको सभाहलमा रास्वपा महामन्त्री एवंम रुपन्देही १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनील लम्सालको प्रमुख आतिथ्यता आयोजना गरिएको भेलामा ५ सय १७ जना युवा सहभागी भएका थिए ।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर भेलाको आयोजना गरिएको र्याट संयोजक रोहित वाग्लेले बताउनुभयो । भेलामा रुपन्देही १ का तिलोत्तमा, देवदह, रोहिणी र ओमसतियाका युवाको सहभागीता थियो ।
महामन्त्री एवंम उम्मेदवार लम्सालले युवाहरु भविष्यको कर्णधारमात्र नभएर वर्तमानका साझेदार रहेको उल्लेख गर्दै अब परिवर्तनको पक्षमा उभिनुपर्ने बताउनुभएको थियो । देशमा सबैभन्दा पिडित वर्ग युवाहरुनै भएको उल्लेख गर्दै उहाँले सबै समस्याको समाधानका लागि युवाहरु अब जाग्नुपर्ने समय आएको धारणा राख्नुभयो ।
र्याट संयोजक वाग्लेले महामन्त्री एवंम यस क्षेत्रका उम्मेदवार सुनील लम्साललाई विजयी गराउन ३३ वटा वडामै युवाहरु सशक्त ढंगले परिचालन हुने निर्णय गरिएको बताउनुभयो । वाग्लेका अनुसार भेलामा सहभागी युवाहरु मतदाता शिक्षा, घर दैलो कार्यक्रम लिएर निर्वाचन क्षेत्रका मतदातासँग पुग्ने निर्णय गरिएको छ ।
भेलामा समानुपातिक उम्मेदवार श्रद्धा कुँवर, क्षेत्रीय सभापति मोहन जिसी, महामन्त्रीका राजनीतिक सल्लाहकार आशिष सुवेदी, अशिम श्रेष्ठ, लुम्बिनी प्रदेशका र्याट संयोजक शंकर भण्डारी, रुपन्देही र्याट संयोजक मेघराज पन्त लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।




