साई ग्लोबल कपः कालिका र प्यारामाउण्टको सानदार जित

by समतल अनलाइन
70Shares

भैरहवा।कालिका मानव ज्ञान कलेज र प्यारामाउण्ट कलेजले भैरहवामा जारी ११औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल टी–२० क्रिकेट प्रतियोगितामा सानदार जित निकालेका छन् । बिहीबार भएका दुई खेलमा कालिकाले काशी नोबल एकेडेमीलाई ९ विकेट र प्यारामाउण्टले लुम्बिनी बाणिज्य क्याम्पसलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै सानदार जित निकालेका हुन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काशी नोबलले सबै विकेट गुमाएर १ सय ३७ रन बनायो । उसका लागि समिर अलीले ६४, शिव गुप्ताले २५, निश्चल चौधरीले २० र सुप्रित घिमिरेले १५ रन जोडे । बलिङमा कालिका सुमित थापा र थानेश्वरले समान २–२ तथा सन्देश थापा र विपिन भट्टराईले १–१ विकेट लिए ।

प्रतिउत्तरमा कालिकाले १३ ओभर २ बलमा १ विकेटको क्षतिमा १ सय ३९ रन बनाउँदै सहजै जित हात पार्यो । उसको जितमा प्रज्जवल थापाले अविजित १ सय ८ रनको शतकीय पारी खेले । यस्तै, विशाल भुसालले नटआउट २२ रन बनाए । बलिङमा काशीका सुप्रित घिमिरेले १ विकेट लिए । खेलमा प्रज्जवल थापा प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको प्यारामाउण्टले ६ विकेटको नोक्सानीमा १ सय ५५ रन बनायो । उसका लागि देव खनालले ४०, अमल बोहराले ३५, तुलबहादुर थापाले १९, सागर भण्डारीले अविजित १७ र आर्यन भण्डारीले १३ रनको योगदान गरे । बलिङमा लुम्बिनी बाणिज्यका रोशन थापा मगरले ४ र आशिष श्रेष्ठले १ विकेट हात पारे ।

जवाफी ब्याटिङमा आएको लुम्बिनी बाणिज्यले ८ ओभर ५ बलमा अलआउट हुँदै जम्मा १३ रन बनायो । उसलाई हज्जास्पद हार चखाउने क्रममा बलिङमा प्यारामाउण्टका आशुतोष पाण्डेले ५ र सागर भण्डारीले ४ विकेट लिए । लुम्बिनी बाणिज्यका भने कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा सागर भण्डारी प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

फागुन १४ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजहरुको सहभागिता रहेको खेल संयोजक निरजप्रताप खाँणले बताए । प्रतियोगिताको विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बलरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ पाउने छन् । यस्तै, प्रतियोगिताको अनुशासित टिमलाई पनि सम्मानित गरिने आयोजकले जनाएका छन् ।

You may also like

This will close in 0 seconds