कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका पहिलो, इटहरी सबैभन्दा कमजोर

by समतल अनलाइन
67Shares

बुटवल । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरिएको नतिजाअनुसार बुटवल उपमहानगरपालिका ६४.४४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने इटहरी उपमहानगरपालिका ३८.९६ अंकसहित सबैभन्दा कमजोर देखिएको छ ।

दाङ जिल्लाका दुई उपमहानगरपालिकामध्ये तुल्सीपुरले ६१.५३ अंक प्राप्त गर्दै दोस्रो स्थान नजिक देखिएको छ भने घोराहीले ६१.०८ अंक हासिल गरेको छ । धरान उपमहानगरपालिकाले भने ४९.७६ अंक प्राप्त गरेको आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहको मूल्यांकनका लागि १७ वटा सूचक प्रयोग गरेको जनाएको छ । ती सूचकमा वित्तीय अनुशासन, बजेट व्यवस्थापन, राजस्व परिचालन, सामाजिक क्षेत्रका उपलब्धि र सूचना प्रविधिको प्रयोगजस्ता विषय समेटिएका छन् ।

वित्तीय सूचकअन्तर्गत बजेट असारभित्र सार्वजनिक र पारित भए/नभएको, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट उठेको रकमको ४० प्रतिशत मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरिए/नगरिएको जस्ता विषय समावेश छन् ।

त्यसैगरी आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरेको/नगरेको, राजस्व परिचालनको अवस्था, बजेट खर्च, बेरुजुको स्थिति र ‘सूत्र’ सफ्टवेयरको प्रयोगलाई पनि मूल्यांकनको आधार बनाइएको छ ।

शिक्षा र स्वास्थ्यसँग सम्बन्धित सूचकहरू पनि मूल्यांकनमा समेटिएका छन् । विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, एसइई परीक्षा नतिजा, गर्भ जाँच गर्ने महिलाको अनुपात तथा खोप लगाएका बालबालिकाको अनुपातलाई समेत अंक निर्धारणको आधार बनाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार देशभरि ८० अंकभन्दा बढी ल्याउने स्थानीय तह चार वटा मात्र रहेका छन् । तीमध्ये अधिकांश पश्चिम नेपाल क्षेत्रका रहेका छन् ।

You may also like