बालेनको कार्यालयमा ढुंगा प्रहार भएको बारे भ्रामक समाचार र तस्बिर फैलाउनेलाई कानुनी कारबाही गर्ने चेतावनी

by समतल अनलाइन
62Shares

दमक । जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जालमा भ्रामक समाचार र तस्बिर फैलाएको भन्दै कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

झापाको क्षेत्र नम्बर ५ स्थित कमल गाउँपालिका-२ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहको सम्पर्क कार्यालयमा सामान्य क्षति भएको विषयलाई एआईको प्रयोग गरेर भ्रामक समाचार र तस्बीर प्रकाशित गरेको भन्दै प्रशासनले त्यस्ता गलत सूचना फैलाउने व्यक्ति र समूहको पहिचान गरिरहेको र कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएको हो ।

प्रशासनले अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गर्दा एउटा झ्यालको सिसा मात्र फुटेकोमा कार्यालय ध्वस्त भएको तस्बीर बनाएर प्रकाशित गरिएको भन्दै यस घटनाको प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।

प्रशासनले भनेको छ-

झापा जिल्ला निर्वाचन क्षेत्र नं. ५ मा रहेको कमल गाउँपालिका वडा नं. २ स्थित क्याम्पा बजारमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह ( बालेन ) को सम्पर्क कार्यालय रहेको घरको दक्षिणतर्फको घरधनी बसोबास गर्दै आएको कोठाको झ्यालको सिसा मिति २०८२ / १० / २१ गते राति अन्दाजी १२:१५ बजे ढुङ्गाले हानी फुटाएको कुराको जाहेरी परी कारबाहीको प्रकृया अघि बढाइसकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

उक्त घटनाको सम्बन्धमा एआईको दुरूपयोग गरी वास्तविक घटना स्थिति भन्दा फरक पारी गम्भीर प्रकृतिको तोडफोड भएको देखिने तस्वीर बनाई सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको पाइएकाले उक्त भ्रामक समाचार फैलाउने व्यक्ति वा समूहको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाइसकिएको र यस प्रकारका भ्रामक समाचार प्रचार प्रसार गर्ने जोसुकैलाई प्रचलिन कानून बमोजिम कारबाही गरिने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

You may also like