इन्जिनियर पाण्डेको चुनावी एजेन्डा : रूपन्देही–२ मा शिक्षा, स्वास्थ्य र डिजिटल विकास प्राथमिकता

by समतल अनलाइन
59Shares

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार इन्जिनियर सुरज पाण्डेले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।

बुटवलमा आयोजित कार्यक्रममा पाण्डेले उद्योग, व्यापार र सेवा क्षेत्रको विस्तारका लागि आधुनिक भौतिक तथा डिजिटल पूर्वाधार निर्माणलाई मुख्य एजेन्डा बनाएको बताए। “रुपन्देहीको दिगो विकासका लागि आधुनिक पूर्वाधार निर्माण अब मेरो प्रमुख प्राथमिकता हो,” उनले भने।

उनले सूचना प्रविधि (आईटी) उद्योग विस्तार गर्दै डाटा सुरक्षा सुदृढ गर्ने, डिजिटल सेवा प्रवर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारे। उद्योगमैत्री सीप विकास कार्यक्रम सञ्चालन गरी तालिममार्फत दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने योजनासमेत उनले सार्वजनिक गरे।

पर्यटन क्षेत्रलाई स्थानीय अर्थतन्त्रको मुख्य आधार बनाउने रणनीति प्रस्तुत गर्दै पाण्डेले होटल, रेस्टुरेन्ट, धार्मिक तथा प्राकृतिक पर्यटनको विकासमा जोड दिए। यसबाट नयाँ रोजगारीका अवसर सिर्जना हुने उनको विश्वास छ।

बजारको मागअनुसार छिटो अनुकूलन हुनसक्ने नीतिगत तथा संस्थागत संरचना विकासलाई पनि प्राथमिकतामा राख्ने उनले बताए। जलविद्युत क्षेत्रलाई प्रविधि, मूल्य अभिवृद्धि र उद्योगसँग जोड्दै आर्थिक मेरुदण्डका रूपमा विकास गर्ने उनको योजना रहेको छ।

स्वास्थ्य क्षेत्रतर्फ सर्वसुलभ र गुणस्तरीय सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित क्षेत्रीयस्तरको आधुनिक अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य सेवा विस्तारका लागि पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। शिक्षातर्फ विश्वस्तरीय शिक्षासँग जोडिने उद्देश्यसहित विदेशी विश्वविद्यालयका क्याम्पस नेपालमै स्थापना गर्न पहल गर्ने योजना उनले बताए।

पेशाले मेकानिकल इन्जिनियर तथा उद्योगपति रहेका पाण्डेले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन पूरा गरेका छन्। उनले इटालीमा इरास्मस छात्रवृत्तिमार्फत स्नातकोत्तर तहको अध्ययन सम्पन्न गरेका छन्। २७ वर्षको उमेरमै तिलोत्तमा–टिकुलीगढ क्षेत्रमा उद्योग स्थापना गरी जलविद्युत उत्पादन, आपूर्ति तथा वितरण क्षेत्रमा संलग्न भई १०० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको उनको दाबी छ।

रुपन्देही उद्योग संघका एसोसिएट सदस्यसमेत रहेका पाण्डेले पूर्वाधार, ऊर्जा, सीप विकास, डिजिटल रूपान्तरण, स्वास्थ्य, पर्यटन र शिक्षामार्फत समृद्ध रुपन्देही निर्माण गर्ने स्पष्ट दृष्टिकोणसहित आफू उम्मेदवार बनेको बताए।

You may also like