बुटवल।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले रूपन्देही क्षेत्र नम्बर २ अन्तर्गत बुटवल–११ मा प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ।

बुटवल–११ देबिनगर चौपारी नजिक स्थापना गरिएको कार्यालयको प्रतिनिधिसभा सदस्यका उम्मेदवार चुन्नु प्रसाद पौडेलले रिबन काटेर उद्घाटन गर्नुभयो। सो कार्यालयबाट अब दैनिक रूपमा चुनावी प्रचारप्रसारका गतिविधि सञ्चालन गरिने जनाइएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले बुटवलको समग्र विकास र सुकुमबासीलाई लालपूर्जा वितरण आफ्नो प्राथमिकता हुने बताउनुभयो। उहाँले आफू गफमा होइन, काम गरेर देखाउने विश्वास दिलाउँदै जनताको मतबाट विजयी भई संसदमा पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले कांग्रेस परिवर्तन भएर आएको दाबी गर्दै देश परिवर्तन गर्न कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो।
प्रदेश कोषाध्यक्ष प्रकाश रानाले नयाँ भनिएका दलहरूसँग स्पष्ट एजेन्डा नै नभएको टिप्पणी गर्नुभयो।कार्यक्रममा प्रदेशसभा सदस्य जमुना ढकाल, समानुपातिक उम्मेदवार रिता सेन ओली, महाधिवेशन प्रतिनिधि काजिमान श्रेष्ठ, क्षेत्रीय सभापति प्रजापाल गिरी, वडा सभापति जितबहादुर मल्ल, सचिव यज्ञप्रसाद न्यौपाने लगायतले बुटवललाई विकास गरेर नमुना शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।



