काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दुईपल्ट भन्दा धेरै प्रधानमन्त्री नबन्ने प्रस्ताव लिएर आएको बताउँदै विशेष महाधिवेशनबाट पारित गराउने बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो प्रस्ताव पारित गराउने घोषणा गरेका हुन् ।
‘कांग्रेसमात्रै होइन कुनै पनि पार्टीको नेता दुईपल्टभन्दा प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव लिएर आउँछौँ,’ उनले भने, ‘कांग्रेसभित्रैबाट उठेको रुपान्तरण हो भन्ने लाग्न सक्छ।’
महामन्त्री शर्माले हिजोको तुलनामा आज कांग्रेसले आफूभित्रकै चुनौतीको सामना गरिरहेको बताए। विशेष महाधिवेशनले कांग्रेस सुधार गर्ने सङ्कल्प गर्ने उनको भनाइ छ।
पार्टीभित्रका कमीकमजोरीको ड्राइभिङ सिटको छेउमा आफूहरू पनि बसेको उल्लेख गर्दै उनले जिम्मेवारी लिन तयार रहेको बताए । समयअनुकूल कांग्रेसलाई परिवर्तन गर्न विशेष महाधिवेशनको मैदानमा उभिएको शर्माले स्पष्ट पारे।
उनले भने, ‘कुनैबेलामा कांग्रेसले आफू अनुकूल बदलेको थियो, आज बदलिएको समयानुकूल कांग्रेसले आफूलाई बदल्नु छ त्यसका लागि हामी विशेष महाधिवेशनको मैदानमा खडा भएका छौं।’
विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ । विशेष महाधिवेशन पक्षधर नेता मनोजमणि आचार्यले बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने जानकारी दिए।



