रोबोटले पनि पीडा महसुस गर्ने, वैज्ञानिकहरूले मानिसको जस्तै छाला

by समतल अनलाइन
141Shares

काठमाडौँ । प्रविधिको तीव्र विकाससँगै मानिसझैँ सोच्न र बुझ्न सक्ने रोबोटहरू निर्माण भइसकेका छन्। तर अहिलेसम्म रोबोट र मानिसबीचको ठूलो फरक भनेको रोबोटले पीडा, तातो वा चिसो महसुस गर्न नसक्नु थियो। अब भने वैज्ञानिकहरू यस्तो प्रविधिको नजिक पुगेका छन्, जसले रोबोटलाई मानिसजस्तै पीडा महसुस गर्न सक्षम बनाउनेछ।

हङकङको सिटी युनिभर्सिटीका इन्जिनियर युयु गाओ र उनको टोलीले मानव स्नायु प्रणालीजस्तै काम गर्ने न्यूरोमोर्फिक रोबोटिक छाला (ई–छाला) विकास गरेका छन्। यो छालाले रोबोटलाई बिस्तारै छोइएको हो कि खतरनाक रूपमा थिचिएको हो भन्ने कुरा छुट्याउन मद्दत गर्छ।

सामान्य रोबोटिक छालाले केवल दबाब मापन गर्ने गर्छ। तर यो नयाँ छालाले शारीरिक सम्पर्कलाई विद्युतीय संकेतमा रूपान्तरण गर्छ, जुन मानिसको शरीरमा स्नायुबाट प्रवाह हुने संकेतजस्तै हुन्छ।
यस रोबोटिक छालाको सबैभन्दा विशेष पक्ष यसको रिफ्लेक्स प्रणाली हो। यो छाला चार तहमा बनाइएको छ, जसले मानव स्नायु प्रणालीझैँ काम गर्छ। यदि दबाब सामान्य अवस्थामा छ भने जानकारी रोबोटको केन्द्रीय प्रोसेसरमा पुग्छ र वस्तु समात्ने वा मानिससँग अन्तरक्रिया गर्न प्रयोग हुन्छ।

तर दबाबले निश्चित पीडाको सीमा नाघ्ने बित्तिकै, प्रणालीले सिधै रोबोटको मोटरमा उच्च भोल्टेजको संकेत पठाउँछ। यसले रोबोटलाई तुरुन्तै पछि हट्न बाध्य बनाउँछ। यो प्रक्रिया मानिसले तातो वा धारिलो वस्तु छोएपछि हात झिक्ने प्रतिक्रियाजस्तै हो।
वैज्ञानिकहरूका अनुसार यो प्रत्यक्ष संकेत प्रणालीका कारण प्रतिक्रिया समय निकै कम हुन्छ। यसले रोबोटलाई आफैंलाई क्षतिबाट जोगाउन मात्र होइन, वरपरका मानिस र वस्तुको सुरक्षामा पनि सहयोग पुर्‍याउँछ। महत्त्वपूर्ण कुरा, यस्ता अवस्थामा रोबोटले हरेक पटक केन्द्रीय कम्प्युटरको सहारा लिनु पर्दैन।

यो ई–छालामा आत्म–निगरानी प्रणाली पनि छ। प्रत्येक सेन्सरले निरन्तर प्रकाश संकेत पठाउँछ। यदि छालाको कुनै भाग काटिएको वा च्यातिएको छ भने त्यो संकेत तुरुन्तै बन्द हुन्छ, जसबाट रोबोटले क्षति पहिचान गर्न सक्छ।
यद्यपि यो छाला आफैं निको हुने खालको भने होइन। तर यसको मर्मत प्रक्रिया निकै सजिलो छ। ई–छाला साना चुम्बकीय मोड्युलबाट बनेको हुन्छ, जुन ब्लकजस्तै जोडिएको हुन्छ। कुनै भाग बिग्रिएमा त्यसलाई हटाएर केही सेकेन्डमै नयाँ भाग जडान गर्न सकिन्छ, पूरै रोबोट खोल्नुपर्दैन।

You may also like

This will close in 0 seconds