बुटवल । नेपालको अर्थतन्त्र सीमित ठूला व्यवसायिक घरानाको ‘होल्ड’ (कब्जा) मा रहेकाले देशभरका साना तथा मझौला व्यवसायी माथि उठ्न नसकेको व्यवसायीहरूले गुनासो गरेका छन् । उद्योग व्यापार संघ बुटवलको सातौँ वार्षिक साधारणसभामा सहभागी रुपन्देहीका अगुवा व्यवसायीहरूले राजनीतिक व्यवस्था परिवर्तन भए पनि आर्थिक संरचनामा अपेक्षित परिवर्तन आउन नसकेको भन्दै सरकार र राजनीतिक दलको ध्यान समतामूलक तथा समाजवादउन्मुख अर्थतन्त्रतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले देशको कुल बैंकिङ कर्जामध्ये ६० देखि ७० प्रतिशत करिब सयजना ठूला व्यवसायिक घरानामा केन्द्रित रहेको जानकारी दिनुभयो । उहाँका अनुसार १८ लाखभन्दा बढी साना तथा मझौला उद्योगी–व्यवसायीले जम्मा ३० देखि ४० प्रतिशत मात्र कर्जा पाउँदै आएका छन् ।
‘सीमित ठूला घरानाले बैंकको दुई तिहाइ कर्जा उपभोग गरेका छन्,’ पराजुलीले भन्नुभयो, ‘यो अस्वाभाविक असन्तुलन नतोडेसम्म लाखौँ साना तथा मझौला व्यवसायी फस्टाउन सक्दैनन्, न त समाजवादउन्मुख अर्थतन्त्र निर्माण सम्भव हुन्छ ।’
महासचिव पराजुलीले सरकारको कर तथा भन्सार नीति पनि साना तथा मझौला व्यवसायीमैत्री नभई ठूला घरानामै केन्द्रित भएको गुनासो गर्नुभयो । स्वदेशमा उत्पादन र खपत हुने वस्तुको यकिन तथ्यांकका आधारमा मात्रै आयात अनुमति दिनुपर्ने र स्वदेशमै उत्पादन हुने वस्तु आयात गर्दा उच्च भन्सार लगाउनुपर्ने उहाँको सुझाव थियो ।
‘तथ्यांक विश्लेषणबिनाको आयात नीतिले साना उद्योगी, व्यवसायी र किसान कहिल्यै माथि उठ्न सक्दैनन्,’ उहाँले भन्नुभयो । संविधानले व्यवस्था गरेको समाजवादउन्मुख अर्थतन्त्रतर्फ सरकार र दलहरूको गम्भीर ध्यान नपुगेको उहाँको गुनासो थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निजी क्षेत्र फस्टाए मात्र देशको आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो । प्रदेश सरकारको बजेट विकास निर्माणभन्दा आलिशान प्रशासनिक भवन, महँगा गाडी खरिद तथा सांसद–मन्त्रीका सेवा सुविधामा बढी खर्च हुने गरेकाले नागरिकमा वितृष्णा बढेको उहाँको भनाइ थियो ।
प्रदेशको स्थायी राजधानी दाङ कायम गर्दा बुटवललाई आर्थिक राजधानी बनाइने निर्णय भए पनि त्यसअनुसार बजेट र कार्यक्रम नआएको भन्दै पाण्डेयले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेश सभाको निर्णयअनुसार दाउन्नेदेखि चन्द्रौटासम्मलाई समेटेर मेगासिटी अवधारणामा बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्नुपर्ने उहाँको सुझाव थियो ।
उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संघले व्यवसायीको हकहितसँगै स्थानीय सरकारसँग सहकार्य गरी सामाजिक कार्यहरू गर्दै आएको बताउनुभयो । उहाँले बुटवल मण्डपमा पुस महिनामा लाग्ने व्यापार मेलाका सन्दर्भमा देखिएको विवाद समाधान भई अब पालैपालो मेला आयोजना गर्ने सहमति जुटेको जानकारी दिनुभयो । संघको सचिवालय भवनका लागि जग्गा व्यवस्थापनमा सहयोग गर्न उपमहानगरसँग आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, नेपाली कांग्रेस बुटवल नगर कार्यवाहक सभापति ज्योति भण्डारी, नेकपा बुटवल संयोजक महेन्द्र भुसाल, एमाले नगर उपाध्यक्ष माधव खनाल, रास्वपा नगर सभापति राजन पाण्डे, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गणेश अधिकारी, महासंघका केन्द्रीय सदस्य गोविन्दराज गैरे लगायतले बोल्दै निजी क्षेत्रको खस्कँदो मनोबल उठाउन सरकारले विशेष नीति, योजना र कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
यसैबीच साधारणसभाको अवसरमा उद्योग व्यापार संघ बुटवलले उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार पत्रकार यमलाल भुसाललाई प्रदान गरेको छ । तीन दशकदेखि बुटवलमा क्रियाशील पत्रकार भुसाललाई नगद २७ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको हो ।
यस्तै अग्रज पत्रकार डा. बालकृष्ण चापागाईं, दामोदर खनाल र यानेन्द्र जीसीलाई कदरपत्रसहित सम्मान गरिएको छ । संघले व्यवसायी मदनकुमार पुन, बसन्तप्रताप सेन र विष्णुप्रसाद भण्डारीलाई उत्कृष्ट अग्रज व्यवसायीका रूपमा सम्मान गरेको छ ।



