तिलोत्तमामा सातौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जनज्योति माविलाई

by समतल अनलाइन
56Shares

तिलोत्तमा। तिलोत्तमा नगर स्तरीय सातौ राष्ट्रपति रनिङ्गशिल्डको उपाधी जनज्योति मावि तिलोत्तमा-४ डिङ्गरनगरले चुमेको छ । जनज्योति माविले १३ स्वर्ण ११ रजत र ६ कास्य पदक सहित यस वर्षको राष्ट्रपति रनिङ्गशिल्ड जितेको हो । शनिबार भएको फाइनल खेलमा पशुपति मावि ८ स्वर्ण ५ रजत र ३ कास्य सहित दोस्रो भएको छ भने शान्ति नमुना मावि ८ स्वर्ण ३ रजत र ५ कास्य सहित तेस्रो हुन सफल भएको छ ।

नगरखेलकुद विकास समिति संयोजक लोक पुनको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको प्रमुख आतिथ्यता र नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्यको बिशिष्ठ आतिथ्यतामा भएको थियो। समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले स्वास्थ्य र प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा खेल मार्फत देश चिनाउने अभियानको शुरुवात यस्तै खेलबाट हुने हुनाले सहभागी बिद्यालय तथा खेलाडीहरुमा धन्यबाद ज्ञापन गर्दै उत्कृस्ट हुने सबै बिद्यालयलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो।

सोहि अवसरमा बोल्दै नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्यले खेलको माध्यमबाट अन्तरनिहित प्रतिभा प्रस्फूटन गर्न सकिने हुँदा नगरपालिकाले अतिरिक्त क्रियाकलापलाई समेत जोड दिँदै आएकोले खेलको विकासका लागि नगरपालिकाले योजनावद्ध तरिकाले काम गरिरहेको स्मरण गर्दै तिलोत्तमा नगरलाई खेलकुदको हव बनाउनु पर्नेमा जोड दिनुभयो ।

समापन कार्यक्रममा बोल्दै आचार्यले खेलको विकासका लागि नगरपालिकाले समन्वयकारी भूमिकामा काम गरिरहेको बताएका थिए ।तिलोत्तमा-६, स्थित उमा आधारभूत बिद्यालय र नगरपालिकाको आफ्नै प्रांगणमा सञ्चालन भएको सो प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३६ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिएका थिए।

प्रतियोगितामा ५४ विधामा खेल भएका थिए भने एथ्लेक्टिक्स, करांते,तेक्वान्दो,भलिबल, कबड्डी लगायतका खेल भएको थियो। जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको समितिका संयोजक तथा अध्यक्ष लोक पुनले बताए। रिले दौड,हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डीलगायतका प्रतियोगिताहरु समेत सम्पन्न गरिएको छ। बिहिबारदेखि सुरु भएको खेलमा शुक्रबार प्रारम्भिक चरण तथा सेमिफाइनल राउण्ड र शनिबार एथ्लेटिक्स, भलिबल, कबड्डीतर्फका फाइनल खेलहरु सपन्न भएका थिए। प्रतियोगितामा सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु जिल्लाका लागि छनोट गरिने र जिल्ला हुँदै प्रदेश र केन्द्रमा समेत स्थान दिईने तिलोत्तमा नगरपालिकाले जनाएको छ।

You may also like