शुद्धोदनमा दोस्रो उद्योग–वाणिज्य तथा कृषि–पर्यटन महोत्सव, मंसिर २४ देखि पुस ६ सम्म

by समतल अनलाइन
68Shares

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका–४ फर्साटिकरमा दोस्रो शुद्धोदन उद्योग वाणिज्य, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८२ मंसिर २४ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने भएको छ। शुद्धोदन उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवका सबै तयारी पूरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

शुद्धोदन वाणिज्य संघका अध्यक्ष लालमणि श्रेष्ठका अनुसार पहिलोपटक २०७६ सालमा मेला सञ्चालन गरिएको थियो। “यसपटक महोत्सवमा दैनिक १० देखि १५ हजारसम्म आगन्तुक आउने अनुमान गरिएको छ,” उनले बताए।

कार्यक्रम संयोजक कृष्णप्रसाद सुवेदीले तयारी ९९ प्रतिशत सम्पन्न भएको जानकारी दिए। स्थानीय कृषि उत्पादनलाई प्रवर्द्धन गर्न कृषि–स्टल निःशुल्क राखिएको उनले बताए। “कृषि, उद्योग, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धन महोत्सवको मुख्य उद्देश्य हो,” सुवेदीले भने।

महोत्सवमा टिकटदर सर्वसाधारणका लागि १०० रुपैयाँ, विद्यार्थीका लागि ८० रुपैयाँ तोकिएको छ। ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क प्रवेश गराइनेछ। भैरहवा, कञ्चन, लुम्बिनीलगायत स्थानबाट ठूलो संख्यामा दर्शक आउने अनुमान गरिएको छ।

शुद्धोदन वाणिज्य संघका महासचिव विष्णु पंगेनीका अनुसार महोत्सवमा १२० वटा स्टल रहनेछन्। साथै भजन प्रतियोगिता, विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता र महिला रक्साकस्सि प्रतियोगिता पनि आयोजना गरिनेछ।

आयोजकका अनुसार यस वर्षको महोत्सवमा करिब १ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ। स्थानीय उत्पादन, उद्योग–व्यवसायको प्रवर्द्धन तथा पर्यटन सक्रियताबाट शुद्धोदन क्षेत्रको आर्थिक विकासमा महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा राखिएको छ।

You may also like

This will close in 0 seconds