काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताएका छन् । नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समिति ज्ञापनपत्र बुझ्दै संयोजक प्रचण्डले सो कुरा बताएका हुन् ।
पछिल्लो सरकारको नेतृत्व गरेको अवधि चितवन, महोत्तरी लगायतका स्थानबाट भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानको काम सुरु गरिएको भए पनि पछिल्ला सरकारहरूले यसतर्फ आवश्यक पहल नगरेको उनले उल्लेख गरे । साथै, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले देशभरका भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि तत्काल पहल गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आग्रह गरेको हो ।
समितिका अध्यक्ष अजय वैगारसहितको केन्द्रीय कार्यसमितिले आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा संयोजक प्रचण्डलाई भेटी ज्ञापनपत्र बुझाएको हो। दीर्घकालीन रूपमा भूमिहीन, सुकुम्वासी तथा विपन्न नागरिकको जीवनस्तर सुधारका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै समितिले त्यसका लागि सक्रिय पहल गरिदिन आग्रह गरेको छ।
समितिले भूमिहीन सुकुम्वासीको समस्या दीर्घकालीन समाधानका लागि सरकार र पार्टी नेतृत्वको प्रभावकारी हस्तक्षेप अब अनिवार्य भइसकेको बताउँदै प्रधानमन्त्री भन्दा पहिले सं योजक प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको बताएको छ ।



