काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का लिग चरणका खेलहरु सकिएका छन् । लिग चरणका खेल सकिदा प्लेअफमा खेल्ने चार टिमको टुंगो लागेको छ र प्लेअफको समीकरण पुरा भएको छ ।
अब सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले पहिलो क्वालिफायर खेल्ने छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटर खेल्ने छन् ।
पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छन् भने पराजित भएको टिम दोस्रो क्वालिफायर खेल्न पाउने छ । त्यस्तै इलिमिनेटरको विजेता दोस्रो क्वालिफायर खेल्ने छ भने पराजित भएको टिम बाहिरिने छन् । अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आगामी मंगलबार खेल्ने छन् । त्यस्तै बुधबार इलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स खेल्ने छन् । त्यसैगरी दोस्रो क्वालिफायर खेल विहिबार हुने छ भने दोस्रो सिजनको फाइनल खेल शनिबार हुने छ ।
लिग चरणका खेलमा नेपाली बलरको दबदबा देखिएको छ । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ७ खेलमा सर्बाधिक १५ विकेट लिएका छन् । त्यस्तै सुदूरपश्चिम रोयल्सका बलर अविनाश बोहोराले १४ विकेट लिदै दोस्रो स्थानमा रहेका छन् । त्यस्तै काठमाडौँ गोर्खाजका शाहाब आलम र करण केसीले १२-१२ विकेट लिएका छन् । त्यस्तै लुम्बिनी लायन्सका शेर मल्ल र कर्णाली याक्सका नन्दन यादवले १०-१० विकेट लिएका छन् ।
त्यस्तै कर्णाली याक्सका सोमपाल कामीले ९ विकेट लिएका छन् भने पोखरा एभेन्जर्सका विपिन खत्री र काठमाडौँ गोर्खाजका रशिद खानले ८-८ विकेट लिएका छन् ।
धेरै विकेट लिने विदेशी बलरमा श्रीलंकाका धनन्जय लक्शान र अमेरिकाका मिलिन्द कुमारले १०-१० विकेट लिएका छन् ।
त्यस्तै एक इनिंगमा काठमाडौँ गोर्खाजका शाहाब आलमले पोखरा एभेन्जर्सविरुद्ध सर्बाधिक ६ विकेट लिदै प्रतियोगितामा एक खेलमा सर्बाधिक विकेट लिएका छन् ।



