वेस्टर्न र देवदह अन्डर–१४ क्रिकेटको उपाधि भिडन्तमा

Shares

बुटवल।बुटवलको नरैनापुर खेलमैदानमा जारी चौधौं अन्डर–१४ टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा वेस्टर्न क्रिकेट एकेडेमी र देवदह क्रिकेट युनिट पुगेका छन्।

वेस्टर्न क्रिकेट क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा वेस्टर्न क्रिकेट एकेडेमीले चारवटै खेल जितेर फाइनलमा स्थान बनाएको हो। शनिबार भएको पहिलो खेलमा वेस्टर्नले विश्व एकता स्कुललाई १९ रनले हरायो।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्टर्नले १५ ओभरमा ७ विकेट गुमाएर ७८ रन बनायो। जवाफमा विश्व एकता स्कुलले ८ विकेट गुमाएर ५९ रन मात्रै बनायो। पानी परेका कारण खेल १५–१५ ओभरको गरिएको थियो। वेस्टर्नका सुप्रिम खडेल खेलको म्यान अफ द म्याच भए।

त्यस्तै, दोस्रो खेलमा देवदह क्रिकेट युनिटले वेस्टर्न क्रिकेट क्लबलाई ७५ रनले हराउँदै फाइनलमा पुगेको हो। टस हारेर पहिले ब्याटिङ पाएको देवदहले १० ओभरमा ९९ रन बनायो। जवाफमा वेस्टर्न क्रिकेट क्लब २४ रनमै समेटियो। देवदहका रोहित कुँवर म्यान अफ द म्याच घोषित भए।

फाइनल खेल सोमबार हुनेछ भन्ने जानकारी आयोजक वेस्टर्न क्रिकेट क्लबका अध्यक्ष भुवन पाण्डेले दिएका छन्।

You may also like