बुटवलमा एक महिनाको ग्राफिक डिजाइन कम्प्युटर तालिम सुरु

Shares

बुटवल।बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा मुद्रण उद्योग संघ, रुपन्देहीको आयोजनामा एक महिने ग्राफिक डिजाइन कम्प्युटर तालिम सुरु भएको छ। सोमबार आयोजित एक समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले तालिमको उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले प्रविधिको द्रुत विकासलाई आत्मसात् गर्न नसके मुद्रण व्यवसाय फस्टाउन नसक्ने बताए। उनले उपभोक्ताहरू सधैँ नयाँ डिजाइन र शैली खोज्ने भएकाले व्यवसायको प्रवर्द्धनका लागि सीपयुक्त जनशक्ति आवश्यक पर्ने उल्लेख गरे। साथै, उनले मुद्रण व्यवसायको संरक्षणका लागि छपाइको गुणस्तर सुधार्नुपर्नेमा जोड दिए।

नेपाल मुद्रण व्यवसायी महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद पराजुलीले नेपालमा प्राविधिक जनशक्तिको अभाव रहेको बताउँदै, यस्तो तालिमले व्यवसायलाई सशक्त बनाउन सहयोग पुग्ने धारणा राखे।

लुम्बिनी प्रदेश मुद्रण व्यवसायी संघका अध्यक्ष घनश्याम घिमिरेले मुद्रण व्यवसायमा नवीन प्रविधिहरू भित्रिँदै जाँदा विभिन्न चुनौतीहरू थपिएको उल्लेख गर्दै, समाधानका लागि सीप विकास अनिवार्य रहेको बताए।

संघका जिल्ला अध्यक्ष पशुपति पौडेलले तालिमको उद्देश्य व्यवसायलाई प्रवर्द्धन गर्दै मुद्रण क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्नु रहेको जानकारी दिए। उनले व्यवसायिक एकता र गुणस्तर सुधारमा ध्यान दिन आग्रह गरे।

कार्यक्रममा संघका सल्लाहकार डिल्लीनारायण पाण्डे, पूर्व अध्यक्ष लिलाधर लुइटेल, सचिव राजु घिमिरेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए। तालिमको सहजीकरण हव आईटी ग्रुप प्रा.लि, बुटवल मिलनचोकले गर्नेछ।

तालिममा रुपन्देहीका विभिन्न प्रेसहरूमा कार्यरत तथा नयाँ ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ।

You may also like

skip


This will close in 5 seconds