निर्माता र निर्देशकको विवादबीच ‘एक्टर : टेक वन’ संघर्षमा, प्रदीप खड्काको हल भ्रमण पनि फिका

by समतल अनलाइन

बुटवल। लामो समयदेखि दर्शकमाझ चर्चामा रहेको फिल्म ‘एक्टर : टेक वन’ रिलिज हुनुअघि नै विवादमा फस्यो। निर्माता र निर्देशकबीचको मतभेदले फिल्मको प्रचार-प्रसार कमजोर हुँदा दर्शक हलसम्म पुग्न सकेनन्। डेब्यु अभिनेत्री दिव्या रायमाझीले सार्वजनिक अन्तरवार्तामा आँसु झार्नुपरेको अवस्थाले फिल्मभित्रको तनाव झल्काउँछ।

चर्चित अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको यो चलचित्रले पहिलो दिनदेखि नै दर्शकको कम उपस्थिति देख्नुपर्‍यो। निर्माता थमन भण्डारी र निर्देशक राजन भुसालबीचको विवादले अदालतसम्मको ढोका खोल्दा हलमा दर्शक तान्ने प्रचार-प्रसार प्रभावित भयो।

बुटवलको क्युएफएक्स हलमा चार दिनमा मात्र ३२० दर्शकले फिल्म हेरेको तथ्यांक छ। त्यस्तै, आइएनआइ क्यु बक्स हलमा पनि दर्शक संख्या न्यून रह्यो। प्रदेश स्थापना दिवसको दिन विदा हुँदासमेत हलमा उल्लेख्य दर्शक थिएनन्। अभिनेता प्रदीप खड्का र नव नायिका दिव्या रायमाझी फिल्म प्रमोशनका लागि हलसम्म पुगे पनि दर्शकको संख्याले निराश बनायो।

स्थानीय दर्शक राहुल केसी भन्छन्, “टाइम पास गर्न हल आएको थिएँ, प्रदीप खड्काको फिल्म लागिरहेको रहेछ। फिल्म हेर्दै गर्दा कलाकार नै हलमा आएपछि रमाइलो महसुस भयो।”

त्रिकोणात्मक प्रेमकथामा आधारित ‘एक्टर : टेक वन’ को कथावस्तु दर्शकलाई मन परेको देखिए पनि प्रचार-प्रसार प्रभावकारी नभएकाले हलमा दर्शक तान्न नसकेको देखिन्छ।

फिल्ममा प्रदीप खड्का, दिव्या रायमाझी, राजबल्लभ कोइराला, आना शर्मा, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायत कलाकारको अभिनय रहेको छ। पटकथा आकाश बराल र निर्देशक राजन भुसालले लेखेका हुन्। अधृत फिल्म्स र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको फिल्मका निर्माता थमनकुमार भण्डारी हुन्।

फिल्मले वर्ड अफ माउथ बाट पिकअप लिने आशामा निर्माताहरू आशावादी देखिएका छन्। कलाकारहरू अहिले पनि विभिन्न शहरका हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेट गरिरहेका छन्। प्रदीप खड्का भन्छन्, “दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ, फिल्मले अझ राम्रो व्यापार गर्नेमा आशावादी छौँ।”

तर, बलियो प्रचार-प्रसारको अभावमा उत्कृष्ट कलाकार र राम्रो कथा भए पनि ‘एक्टर : टेक वन’ ले शुरुआती व्यापारमा ठूलो चुनौती सामना गरिरहेको छ।

Shares

You may also like

skip


This will close in 5 seconds