गुल्मीमा राति सवारी सञ्चालनमा रोक, असोज १२ गतेसम्म लागू

by समतल अनलाइन
17Shares

गुल्मी । निरन्तरको वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि गुल्मी प्रशासनले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। सम्भावित दुर्घटना तथा मानवीय क्षति न्यूनीकरण गर्न जिल्ला सुरक्षा समितिले अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार असोज ९ गतेदेखि १२ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म अत्यावश्यक सेवामा प्रयोग हुनेबाहेक अन्य सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना औँल्याएपछि प्रशासनले उच्च सतर्कता अपनाएको हो। लगातारको वर्षाका कारण जिल्लाका मुख्य तथा ग्रामीण सडकमा पहिरो खस्ने, सडक अवरुद्ध हुने र यातायात दुर्घटनाको जोखिम बढेको प्रशासनले जनाएको छ।

प्रशासकीय अधिकृत कमल सेन ओलीद्वारा जारी सूचनामा प्रतिकूल मौसमका कारण हुन सक्ने विपद्बाट नागरिकलाई जोगाउन रात्रिकालीन यातायातमा रोक लगाइएको उल्लेख छ।

प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा मौसमसम्बन्धी सूचनामा ध्यान दिन जिल्लावासीलाई आग्रह गरेको छ।

सम्भावित विपद् तथा आपत्कालीन अवस्थामा तत्काल उद्धार तथा सहयोगका लागि प्रशासनले सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ। विपद्जन्य घटना भएमा वा जोखिमसम्बन्धी जानकारी आवश्यक परेमा सम्बन्धित निकायमा तत्काल सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

You may also like