पर्रोहा बोलबम धाममा जलार्पण तथा श्रावणी मेला नहुने

Shares

सैनामैना । पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा लाग्ने जलापर्ण, धार्मिक यात्रा एवम् श्रावणी मेला लगायतका सम्पुर्ण कार्यक्रम यस बर्ष नहुने भएको छ । पश्चिम नेपालको दो
स्रो पशुपतिनाथको नामले प्रशिद्ध रुपन्देहीको सैनामैनास्थित परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा हरेक वर्ष गुरुपूर्णिमाका दिनदेखि जनैपूर्णिमासम्म लाग्ने जलापर्ण तथा श्रावणी मेला नहुने धाम व्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले जानकारी दिनुभयो ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले लागु गरेको लकडाउनका कारणले यस बर्षको सम्पुर्ण धार्मिक कार्यक्रमहरु संचालन गर्न नसकिने अध्यक्ष चौधरीले बताउनुभयो ।

जलार्पण कार्यक्रममा बढी भिडभाड हुने भएकोले र कोरोनाको जोखिम कायमै रहेकाले सबै कार्यक्रम स्थगित गरिएको चौधरीको भनाइ छ । चौधरीले भन्नुभयो – विगत तिन दशक देखी चलि आएको बोलबम जलापर्ण यात्रा यस बर्ष कोरोना संक्रमणले स्थगित गर्न बाध्य भएका हौँ ।

पर्रोहा बोलबम धाम देशकै दोस्रो पशुपतिनाथको रुपमा पहिचान बनाएको बताउदै कोरोना संक्रमणलाई मध्यनजर गरी श्रावणी मेला स्थगित गर्ने निर्णय गरिएको धामका संरक्षक तथा व्यासाचार्य धर्मगुरु किशोर कुमार गौतमले बताउनुभयो । उहाँले यस घर घरमा शिवलिङ्ग बनाएर पुजा अर्चना गर्न सकिने समेत उल्ल्ेख गर्नुभयो ।
पश्चिम नेपालको प्रमुख ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित बोलबम धाममा साउन महिनाभर तीर्थालु एवम् भक्तजनहरुले जलार्पण गर्ने गर्दथे । विशेष गरी सोमबारका दिन पहेँलो बस्त्र धारी दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्दथ्यो ।

नेपालका विभिन्न जिल्लाहरुमा रहेका कालिगण्डकी, नारायणी, कोशी, बाग्मती लगायतका कैयौँ नदिहरुबाट जल लाई यहाँ जलार्पण गर्ने गर्दथे । त्यसैगरी भारतका उत्तर प्रदेश , विहार, उत्तराखण्ड लगायतबाट हजारौँ भक्तहरु आउने गर्दथे ।
यहाँ दर्शन, पुजन, जलार्पण गर्नाले आरोग्यता, मनोकामना पूरा हुने र मनमा शान्ति कायम हुनुका साथै बाढी, पहिरो नदी कटान, भुक्षय जस्ता प्राकृतिक प्रकोप र बर्षायाममा लाग्ने बिभिन्न रोग व्याधिबाट मुक्ति मिल्ने विश्वास रहि आएको छ ।
पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग धाम सैनामैना नगरपालिका वडा नं. १ पुर्व पश्चिम राजमार्गको रानीबगियादेखि करिब २ कि.मि दक्षिणमा अवस्थित छ । धाम रहेको स्थान ऐतिहासिक तथा पुरातात्तित्वक महत्वको सैनामैना क्षेत्र हो ।
मन्दिर व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेल गरी यस बर्ष एक महिने जलार्पण कार्यक्रम नहुने जानकारी गराएको हो । उक्त कार्यक्रममा धामका उपाध्यक्ष मीना तिवारी , कोषाध्यक्ष रामनाथ हरिजन, सचिव छविलाल पन्थ लगायत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको संचालन महासचिव प्रेमलाल भुसालले गर्नुभएको थियो ।

You may also like

This will close in 0 seconds