अमेरिकामा कोरोनाबाट एकै दिन २१ सयको मृत्यु, संक्रमित पाँच लाख २८ हजार ८७६

by समतल अनलाइन
305Shares

अमेरिका। प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट अमेरिकामा एकै दिनमा विश्वमै अहिलेसम्मकै बढी मानिसको ज्यान गएको छ ।

अमेरिकामा कोरोना संक्रमणले शुक्रबार एकै दिन (२४ घण्टाभित्र) दुई हजार १०८ जनाले ज्यान गुमाएको त्यहाँस्थित जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । एकै दिनमा यति धेरै मानिसको ज्यान गएको विश्वमा यो नै पहिलो हो ।

संसारमै सबैभन्दा बढी संक्रमितको संख्या भएको अमेरिका अब मृत्युका हिसाबले पनि सबैभन्दा बढी क्षति बेहोर्ने देश बन्ने सम्भावना देखिएको छ । अहिलेसम्म विश्वमा सबैभन्दा बढी मृत्यु हुने देश इटली हो, जहाँ यो खबर लेख्दासम्म कोरोनाबाट १८ हजार ८४९ जनाको मृत्यु भएको छ भने अमेरिकामा १८ हजार ७६९ जनाको ज्यान गएको छ ।

तर, अमेरिकामा जुन गतिमा कोरोनाबाट संक्रमण र मृत्यु भइरहेको छ, त्यस हिसाबले कोरोनाबाट सबैभन्दा बढी मानव क्षति बेहोर्ने देश पनि अमेरिका नै बन्ने आशंका बढेर गएको छ ।

संक्रमितको संख्या संसारमै सबैभन्दा बढी अमेरिकामा पाँच लाख २८ हजार ८७६ पुगेको छ । यसपछि विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा देखिएका छन् । त्यहाँ अहिलेसम्म एक लाख ४७ हजार ५ सय ७७ जना कोरोनाबाट संक्रमित भएका छन् ।

 

You may also like

This will close in 0 seconds