बडादसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

by समतल अनलाइन
37Shares

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको टीकाको उत्तम साइत कार्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको जनाएको छ।

समितिका अनुसार विजयादशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जन गरेपछि बिहान १०:२६ बजे टीका लगाउनु उत्तम हुनेछ। टीका लगाइदिने र लगाइमाग्ने दुवै जना पश्चिम मोहडा फर्किएर टीका लगाउनुपर्ने समितिले जनाएको छ।

यस वर्ष असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना गरिनेछ। घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे रहेको छ।

त्यसैगरी, असोज २६ गते सोमबार बिहान १०:०७ बजे पश्चिम मोहडा फर्काएर झण्डा फेर्ने शुभसाइत रहेको छ। असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा तथा असोज ३१ गते शनिबार फूलपाती परेको छ।

फूलपातीका दिन श्री तुलजाभवानी यात्राको साइत बिहान ७:३७ बजे र स्थिरासनको साइत बिहान १०:३९ बजे रहेको समितिले जनाएको छ।

कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ।

विजयादशमीका दिन टीकाको साइतबाहेक श्री तुलजाभवानी यात्राको साइत बिहान १०:५१ बजे र स्थिरासनको साइत दिवा ११:५२ बजे रहेको छ। सोही दिन खड्गयात्रासमेत गरिनेछ।

समितिका अनुसार कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा सम्पन्न गरेपछि यस वर्षको नवरात्र तथा बडादसैँ औपचारिक रूपमा समापन हुनेछ।

You may also like