बालिका अपहरण आरोपमा युवक गोली लागेर पक्राउ

by समतल अनलाइन
49Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७, दरखसवाकी १० वर्षीया बालिकाको अपहरण गरेको आरोपमा प्रहरीले एक युवकलाई गोली चलाएर नियन्त्रणमा लिएको छ। प्रहरीले २७ वर्षीय युवराज थारु भनिने विशाललाई आइतबार राति कान्छी बजारनजिकैको जंगलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा थारुले प्रतिरोध गर्दै प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली चलाइएको थियो। गोली लागेर उनको खुट्टामा चोट लागेको र उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालिकालाई गत बुधबार राति घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरिएको थियो। राति करिब २ बजेतिर बालिकालाई कपडा ओढाइदिन खोज्दा हजुरआमाले उनलाई ओछ्यानमा नभेटेपछि परिवारले खोजी सुरु गरेको थियो। त्यसपछि छिमेकीमार्फत प्रहरीलाई घटनाबारे जानकारी गराइएको थियो।

बालिका हराएको सूचना पाएलगत्तै प्रहरीले स्थानीय बस्ती, गाउँ आसपासका क्षेत्र तथा जंगलमा खोजी तीव्र बनाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले अपहरणमा संलग्न व्यक्तिबारे सुराक फेला पारेको जनाएको छ।

करिब ३८ घण्टापछि शुक्रबार साँझ ७ बजे प्रहरीले कान्छी बजारस्थित जंगलबाट बालिकालाई सकुशल उद्धार गरेको थियो। बालिका भेटिए पनि अपहरणमा संलग्न भएको आरोप लागेका थारु भने त्यतिबेला फरार भएका थिए।

उद्धार गरिएको स्थानबाट बरामद भएको मोबाइल फोनलाई अनुसन्धानको महत्वपूर्ण आधार बनाउँदै प्रहरीले थारुको पहिचान गरेको जनाएको छ। त्यसपछि उनको खोजीमा प्रहरी टोली परिचालन गरिएको थियो। जंगलमै लुकेर बसेको आशंकामा प्रहरीले विभिन्न स्थानमा निगरानी बढाउँदै खोजी जारी राखेको थियो।

आइतबार राति करिब १ बजेतिर थारुलाई जंगलबाट नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि आक्रमणको प्रयास गरेको प्रहरीको भनाइ छ। त्यसपछि प्रहरीले गोली चलाएको र उनको खुट्टामा गोली लागेको जनाइएको छ।

बालिकाका काका जितेन्द्र मल्लाहका अनुसार बालिकाका बुवा मजदुरी गर्छन् भने आमा गृहिणी हुन्। उनीहरूका एक छोरा र चार छोरी छन्। अपहरणमा परेकी बालिका जेठी छोरी हुन्। बालिका हजुरबुवा–हजुरआमासँग बस्दै आएकी थिइन्।

मल्लाहका अनुसार घटना भएको राति उनी आफन्तको मृत्यु भएपछि भारतबाट घर फर्किएका थिए। परिवारका सदस्यले बालिका हराएको थाहा पाएपछि गाउँमा खोजी सुरु गरिएको थियो।

उद्धारपछि बालिका प्रहरीको सुरक्षामा आश्रयस्थलमा रहेकी छन्। प्रहरीले उनको स्वास्थ्य परीक्षणसमेत गराएको जनाएको छ। बालिकाले आफूलाई जंगलमा लैजाने व्यक्तिलाई नचिनेको र आफूमाथि दुर्व्यवहार भएको बताएको प्रहरीको भनाइ छ। उनी नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने भएकाले आवश्यक विवरण आफ्नै भाषामा बताएकी छन्।

घटनाबारे अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले बालिकाको सकुशल उद्धारलाई प्रहरीको पहिलो प्राथमिकता बनाइएको बताए।

उनका अनुसार अपहरणकारीको आपराधिक पृष्ठभूमि र सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले बालिकाको खोजी तथा उद्धारमा विशेष सतर्कता अपनाएको थियो। स्थानीयको सहयोगमा जंगल क्षेत्रमा व्यापक खोजी गरिएको र बालिकालाई सकुशल उद्धार गर्न सफल भएपछि फरार आरोपितको खोजीलाई निरन्तरता दिइएको उनले बताए।

प्रहरीले आरोपित थारुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। घटनामा अपहरणको कारण, बालिकामाथि भएको भनिएको दुर्व्यवहार तथा घटनामा अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान भइरहेको छ।

You may also like