बाँदरका लागि नवलपरासीमा आकाशे पुल बन्दै

by समतल अनलाइन
26Shares

नवलपुर । नारायणघाट–बुटवल सडकखण्डको जंगल क्षेत्रमा बाँदरलाई सुरक्षित रूपमा राजमार्ग वारपार गराउन थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिने भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गको मापदण्डअनुसार चार लेनमा विस्तार गरिएको सडकखण्डको कावासोती–लाकाहा र चोरमारा–अरुणखोला बीचको जंगलमा एक–एकवटा आकासे पुल निर्माण गर्ने तयारी गरिएको हो।

राजमार्गमा बाँदरले बाटो काट्दा दुर्घटनाको जोखिम बढेपछि वन्यजन्तुको सुरक्षित आवतजावतका लागि क्यानोपी ब्रिज निर्माण गर्न लागिएको नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए।

उनका अनुसार पहाडी क्षेत्रबाट तराईतर्फ बाँदरको आवतजावत बढेसँगै राजमार्गमा दुर्घटनाको जोखिम पनि बढेको छ। बाँदरलाई सडकबाटै वारपार गर्नुपर्दा हुने दुर्घटनामा मानिसको समेत ज्यान जाने गरेकाले त्यसलाई न्यूनीकरण गर्न क्यानोपी ब्रिज प्रभावकारी हुने अपेक्षा गरिएको छ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) खण्डमा यसअघि नै एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ। गैँडाकोट–१० स्थित पितौँजी जंगलमा निर्माण गरिएको उक्त पुलबाट फाट्टफुट्ट बाँदर वारपार गर्न थालेका छन्।

तर, उक्त पुलको प्रभावकारिता मूल्याङ्कन गर्ने समय अझै नभएको खनालले बताए। वन्यजन्तुलाई नयाँ संरचनाको प्रयोगमा अभ्यस्त बनाउन सुरुमा पुलमा फलफूल राखेर आकर्षित गर्ने तयारीसमेत गरिएको उनले जानकारी दिए।

सडक विस्तार योजनाका अनुसार एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माणमा पाँच लाख रुपैयाँभन्दा कम खर्च हुने गरेको छ। जंगल क्षेत्रमा यस्ता संरचना निर्माण गर्दा वन्यजन्तुका कारण हुने दुर्घटना तथा त्यसबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसअघि गैँडाकोटमा जैविक विविधता संरक्षण तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत सडकको माथिबाट जाने ३४ मिटर लामो र चार फिट चौडाइको क्यानोपी ब्रिज निर्माण गरिएको थियो। व्यस्त राजमार्ग पार गर्दा विशेषगरी बाँदरलाई सुरक्षित मार्ग उपलब्ध गराउनु यसको मुख्य उद्देश्य हो।

सडक विस्तार योजनाले क्यानोपी ब्रिज निर्माणसँगै राजमार्ग आसपासको जैविक विविधता संरक्षणका लागि विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ। जंगल क्षेत्रमा पानीपोखरी निर्माण तथा चोरीसिकारी नियन्त्रणका लागि आवश्यक सहयोगलगायतका काम भइरहेका छन्।

सडक पूर्वाधार निर्माणसँगै वन्यजन्तुको प्राकृतिक आवतजावत सहज बनाउने, वन्यजन्तु–सवारी दुर्घटना घटाउने र राजमार्गलाई वातावरणमैत्री बनाउने उद्देश्यले यस्ता संरचना निर्माण गरिएको सूचना अधिकारी खनालले बताए।

You may also like