गुल्मी–१ बाट युवा कोटामा महाधिवेशन प्रतिनिधिका लागि विकास टन्डनको उम्मेदवारी

by समतल अनलाइन
5Shares

गुल्मी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गुल्मी क्षेत्र नं. १ बाट ३५ वर्षमुनिको युवा कोटातर्फ विकास टन्डनले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका टन्डन पछिल्लो समय पार्टी संगठनसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको उद्देश्यभन्दा नयाँ पुस्ताको आवाज पार्टीको नीति, निर्णय र नेतृत्व तहसम्म पुर्‍याउने अवसरका रूपमा लिएको बताएका छन्।

टन्डनले वि.सं. २०७२ सालमा सिद्धार्थ गौतम बुद्ध क्याम्पस, बुटवलबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिक यात्रा थालेका हुन्। विद्यार्थी संगठनमा सक्रिय हुँदै कांग्रेसको पार्टी संरचनामा प्रवेश गरेका उनी १४औँ महाधिवेशनबाट गुल्मी क्षेत्र नं. १ को क्षेत्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यसयता उनी क्षेत्रीय तहमा पार्टीका गतिविधिमा सक्रिय छन्।

राजनीतिसँगै टन्डन सामाजिक सेवामा पनि संलग्न छन्। उनले लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्ष तथा रोट्र्याक्ट क्लब अफ बुटवल डाउनटाउनको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। गुल्मी–चारपाला रुपन्देही सम्पर्क समाजको सचिवलगायत विभिन्न सामाजिक संघ–संस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव पनि उनीसँग छ। यससँगै उनी व्यवसाय क्षेत्रमा समेत सक्रिय छन्।

टन्डनले राजनीतिलाई पद र सत्ताभन्दा सामाजिक परिवर्तनको माध्यमका रूपमा लिनुपर्ने धारणा राख्दै आएका छन्। ‘राजनीति पेशा होइन, सामाजिक सेवा हो’ भन्ने मान्यताका साथ आफू राजनीतिक गतिविधिमा सक्रिय भएको उनको भनाइ छ।

सामाजिक संघ–संस्थामार्फत हासिल गरेको अनुभवलाई पार्टीको नीति निर्माण र संस्थागत कामसँग जोड्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको टन्डनले बताएका छन्। उनका अनुसार युवाको आवाजलाई पार्टीको निर्णय प्रक्रियासम्म पुर्‍याउनु, स्थानीय तहमा रहेका कार्यकर्ता तथा युवाका अपेक्षालाई नेतृत्वसमक्ष जोड्नु र अग्रज पुस्ताको अनुभव तथा नयाँ पुस्ताको ऊर्जाबीच पुस्तान्तरणलाई प्रभावकारी बनाउनु उनका प्राथमिकता हुन्।

“अग्रज पुस्ताले निर्माण गरेको संगठनात्मक विरासतको सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा, क्षमता र नवीन सोचलाई पार्टीको नेतृत्वसँग जोड्नु आजको आवश्यकता हो,” टन्डनले भनेका छन्।

पार्टी संगठनलाई व्यक्तिकेन्द्रित नभई कार्यकर्तामैत्री, समावेशी, गतिशील र जनमुखी बनाउन युवाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ। महाधिवेशन प्रतिनिधिको जिम्मेवारी पाए इमानदारी, जवाफदेहिता र प्रतिबद्धताका साथ काम गर्ने उनले बताएका छन्।

नेपाली कांग्रेसको संशोधित विधानले ३५ वर्षमुनिका युवाको पार्टीका विभिन्न तहमा प्रतिनिधित्व सुनिश्चित गरेको सन्दर्भमा टन्डनले गुल्मी–१ बाट युवा कोटामा उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफ्नो अभियानलाई अघि बढाउन अग्रज नेता, क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि तथा युवासँग निरन्तर संवाद र छलफल गर्ने बताएका छन्।

उम्मेदवारी घोषणा गर्दै टन्डनले आफ्नो अभियानमा सबैको सुझाव, सहयोग, सद्भाव र विश्वासको अपेक्षा गरेका छन्।

You may also like