त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री गुरुङ आफैं फिल्डमा, मिनी स्काभेटरसहित सेना–सशस्त्र परिचालन

by समतल अनलाइन
63Shares

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि गृहमन्त्री सुधन गुरुङ आफैं फिल्डमा खटिनुभएको छ।

बाढीका कारण आयोजनाको सुरुङ प्रवेशद्वारमा माटो तथा ढुंगामाटो थुप्रिएपछि सुरुङभित्र रहेका कर्मचारी तथा अन्य व्यक्तिहरू बाहिर निस्कन नसकेको खबरपछि उद्धार कार्य तीव्र पारिएको हो। सुरुङमा हाइड्रो इन्जिनियरसहित ३५ जना फसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

उद्धारका क्रममा सुरुङको अवरोध हटाउन मिनी स्काभेटर आवश्यक परेको सूचना सार्वजनिक गरिएपछि आवश्यक उपकरणसहित उद्धार टोली परिचालन गरिएको छ। गृहमन्त्री गुरुङको नेतृत्वमा नेपाली सेना तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत घटनास्थलमा खटिएर सुरुङको बाटो खुलाउने र फसेकाहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास गरिरहेका छन्।

सुरुङभित्र फसेकाहरूको अवस्था थप जोखिमपूर्ण बन्न नदिन उद्धार टोलीले रातको समयमा समेत कामलाई निरन्तरता दिएको छ। सुरुङभित्र अक्सिजनको मात्रा घट्न सक्ने जोखिम रहेकाले उद्धारलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताइएको छ।

यसअघि पनि बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा मानिसहरू फसेका थिए। नेपाली सेनाले माथिल्लो त्रिशूली क्षेत्रको अर्को सुरुङबाट सयौं मानिसको उद्धार गरिसकेको जनाएको छ भने अझै केही व्यक्ति फसेको हुनसक्ने भन्दै खोज तथा उद्धार जारी राखिएको छ।

फसेकाहरूलाई सकुशल उद्धार गर्ने लक्ष्यसहित सुरक्षाकर्मी र प्राविधिक टोलीले जोखिमका बाबजुद उद्धार अभियानलाई तीव्रता दिएका छन्।

नोट :गृहमन्त्री संगै जानु भएको टोलिसंग इन्टरनेट नरहेको हुँदा हामीले तस्बिर पठाउन सकेको छैनौ,पछी तस्बिर उपलब्ध गराउने छौ
गृहमन्त्री ज्युको सचिबालय

You may also like