माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि एपीएफ टोलीले गर्‍यो उद्धार, अचेत अवस्थामा फेला

by समतल अनलाइन
33Shares

रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (एपीएफ) को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ। शुक्रबार साँझ करिब ६ः१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो।

खोजीका क्रममा माटोमुनि पुरिएको अवस्थामा बालिकालाई फेला पारेर उद्धार गरिएको हो। सीमा सुरक्षा चौकी (बीओपी) टिमुरेबाट सप्रनिको कमाण्डमा खटिएको ६ जनाको टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको हो। उद्धारका क्रममा बालिका गम्भीर अवस्थामा र अचेत अवस्थामा फेला परेकी थिइन्। चौकीमा ल्याएपछि उनलाई न्यानो बनाएर राखिएको छ। अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने पहल भइरहेको जनाइएको छ।

तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन नसकेको बताइएको छ। माटोमुनिबाट आएको बालिकाको रोएको आवाज समयमै सुनेर उद्धार गर्न सफल हुनुले विपद्का बेला उद्धार टोलीको सतर्कता र निरन्तर खोजीको महत्त्वलाई थप पुष्टि गरेको छ। बाढी–पहिरोबाट प्रभावित टिमुरे क्षेत्रमा सुरक्षाकर्मीहरूले जोखिमका बीच खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

You may also like