बुटवल । रसुवामा आएको भीषण बाढीमा परी लुम्बिनी प्रदेशका १७८ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्। बाढीपछि परिवार तथा सुरक्षा निकायको सम्पर्कमा नआएका उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ।
प्रदेश सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बाढीपछि सम्पर्कविहीन रहेका दुई जना सम्पर्कमा आएका छन्। यद्यपि, प्रदेश सरकारको तथ्यांकअनुसार अझै १७८ जना सम्पर्कविहीन छन्।
सम्पर्कविहीन हुनेमा रुपन्देहीका सबैभन्दा धेरै ४१ जना छन्। जिल्लागत विवरणअनुसार अर्घाखाँचीका ९, गुल्मीका ७, पाल्पाका ९, नवलपरासी पश्चिमका ६, कपिलवस्तुका ४, दाङका ३५, बाँकेका २१, बर्दियाका ८, प्युठानका ९, रोल्पाका १४ र रुकुम पूर्वका १५ जना सम्पर्कविहीन रहेका छन्।
प्रदेश सरकारका अनुसार रसुवामा आएको बाढीपछि कामको सिलसिलामा त्यहाँ पुगेका, सरकारी सेवामा रहेका, जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक तथा अन्य प्रयोजनका लागि रसुवा पुगेका लुम्बिनी प्रदेशका नागरिक परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन्।
सम्पर्कविहीन नागरिकको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिन सम्बन्धित सुरक्षा निकाय तथा अन्य निकायसँग समन्वय भइरहेको प्रदेश सरकारले जनाएको छ।
प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रमा रहेका लुम्बिनी प्रदेशका नागरिकको अवस्थाबारे यकिन विवरण संकलन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।

