प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सेभेन–ए–साइड फुटबल प्रतियोगिताको दोस्रो दिन पाँच खेल सम्पन्न

by समतल अनलाइन
51Shares

बुटवल। बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलबार पाँच खेल सम्पन्न भएका छन् । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुल विजयी भएको छ ।

सिद्धार्थले ड्रीम भिजन स्कुल अफ फार्साटिकरलाई ५–० को फराकिलो अन्तरले जित निकालेको हो । यस्तै दोस्रो खेलमा कोलिया इङ्लिस बोर्डिङ स्कुलले न्यू स्ट्यान्डर्ड इङ्लिस हाइ स्कुलमाथि ३–० ले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ ।

यस्तै गरी तेस्रो खेलमा नवीन औद्योगिक कदर बहादुर माध्यमिक विद्यालय टिम ’बी’ ले ज्ञानपुञ्ज ई.बी.एस.लाई निकै फराकिलो ९–० को अन्तरले पराजित गरेको छ । दोस्रो दिनको सर्वाधिक गोल गर्दै आयोजक ज्ञानपुञ्जलाई पराजित गर्दै नविन अघिल्लो चरणमा प्रवेश गरेको हो ।

यसैगरी होराइजन जीबीएस स्कुल र शान्ति नमुना माध्यमिक विद्यालयबीच भएको चौथो खेल प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समयमा गोल नभपछि टाइ–ब्रेकरमार्फत २–१ को परिणाममा होराइजन जीबीएस स्कुल विजयी भएको छ

यस्तै दोस्रो दिनको अन्तिम तथा पाँचौ खेलमा श्री नयागाउँ माध्यमिक विद्यालय वाकओभर पाएर अगाडि प्रवेश गरेको छ । केरवानी माध्यमिक तोकिएको समयमा खेलस्थलमा उपस्थित नभएपछि नयाँ गाउँमावि वाकओभरमार्फत विजय बनेको हो । दोस्रो दिन प्रमिस थापा, अकिंत सुनार, सम्राट हमाल र सृजन गिरीलाई प्लेयर अफ द म्याच घोषित हुँदै पुरस्कृत भए । यसअघि सोमबार पहिलो दिनको खेलमा अक्सफोर्ड, ग्यालेक्सी बोर्डिङ स्कूल, सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय, जनज्योति माध्यमिक विद्यालय र एभरग्रीन इङ्लिस बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छन् । प्रतियोगितामा रुपन्देहीका ४२ विद्यालयका खेलाडीहरुले भाग लिएका छन । प्रतियोगिताको सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले उद्घाटन गरेका थिए ।

प्रतियोगिता बुटवल देविनगर स्थित एन्फा रंगशालामा प्रत्येक दिन विहान ८ र दिउँसो तीन बजेदेखि खेल भइरहेको छ । प्रतियोगितामा विजेता हुने समूहले नगद ५१ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । विद्यालय तहबाटै खेलाडी उत्पादनमा योगदान गर्ने उदेश्यले प्रतियोगिता गरिएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए। प्रतियोगितामा उत्कृष्ट गोलकिपर र म्यान आफ दी म्याचलाई नगदसहित पुरस्कृत गरिएको जनाइएको छ ।

You may also like