नेपाल प्रेस युनियन रुपन्देहीको अधिवेशन भदौ १५ मा, तयारीका लागि सात उपसमिति गठन

by समतल अनलाइन
42Shares

बुटवल। नेपाल प्रेस युनियन रुपन्देहीको जिल्ला अधिवेशन आगामी भदौ १५ गते सोमबार हुने भएको छ। मंगलबार बसेको युनियन रुपन्देहीको कार्यसमिति बैठकले अधिवेशनको मिति तय गर्दै तयारीका लागि विभिन्न समिति तथा उपसमिति गठन गरेको हो।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले भदौ २५ गतेभित्र सबै शाखाको साधारण सभा तथा अधिवेशन सम्पन्न गर्न समयसीमा निर्धारण गरेअनुसार रुपन्देहीको अधिवेशन भदौ १५ गते गर्ने निर्णय गरिएको अध्यक्ष कविन्द्र नेपालले जानकारी दिनुभयो।

अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न अध्यक्ष नेपालको संयोजकत्वमा पदाधिकारी तथा कार्यसमिति सदस्य सम्मिलित मूल आयोजक समिति गठन गरिएको छ। त्यसैगरी अधिवेशन तयारीका लागि सातवटा उपसमिति गठन गरिएको छ।

निवर्तमान अध्यक्ष, सल्लाहकार तथा केन्द्रीय सदस्य रेखा भुसालको संयोजकत्वमा अनुगमन, मूल्यांकन तथा समन्वय उपसमिति, उपाध्यक्ष दीपक घिमिरेको संयोजकत्वमा अतिथि स्वागत तथा सत्कार उपसमिति र उपाध्यक्ष कल्पना तिवारीको संयोजकत्वमा सदस्यता नवीकरण उपसमिति गठन गरिएको छ।

त्यस्तै, सचिव कपिल ज्ञवालीको संयोजकत्वमा माइन्युट, प्रतिवेदन लेखन तथा प्रचारप्रसार उपसमिति, कार्यवाहक कोषाध्यक्ष भुवन जिसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा होटल, खाना र खाजा व्यवस्थापन उपसमिति, सहसचिव सीता गौतम (बराल)को संयोजकत्वमा सम्मान तथा मायाको चिनो व्यवस्थापन उपसमिति र सहसचिव कृष्ण भण्डारीको संयोजकत्वमा मञ्च तथा साउन्ड सिस्टम व्यवस्थापन उपसमिति गठन गरिएको छ।

अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्न युनियनका सदस्यसमेत रहेका अधिवक्ता जीवननारायण अधिकारीलाई प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।

अधिवेशनका अवसरमा नेपाल प्रेस युनियन रुपन्देहीले प्रदान गर्दै आएका विभिन्न पत्रकारिता पुरस्कारसमेत वितरण गर्ने तयारी गरेको छ। स्वर्गीय पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार र टोप–सुशिला स्मृति पत्रकारिता पुरस्कार वितरण गरिने भएको हो।

पुरस्कार छनोट तथा मूल्यांकनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको सचिव कपिल ज्ञवालीले जानकारी दिनुभयो।

जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कारका लागि यसअघि पुरस्कृत युनियनका पूर्वअध्यक्ष रामराज पोख्रेलको संयोजकत्वमा पूर्वअध्यक्ष भवानीप्रसाद पाण्डे र अध्यक्ष कविन्द्र नेपाल सदस्य रहेको समिति गठन गरिएको छ।

त्यसैगरी, टोप–सुशिला स्मृति पत्रकारिता पुरस्कारका लागि यसअघि पुरस्कृत सल्लाहकार माधव नेपालको संयोजकत्वमा पुरस्कार स्थापनामा योगदान गरेका युनियन सदस्य कृष्ण पंगेनी र अध्यक्ष नेपाल सदस्य रहेको समिति गठन गरिएको छ।

केन्द्रीय समितिले भदौ २५ गतेसम्म साधारण सभा तथा अधिवेशन सम्पन्न गर्न समयसीमा तोकेकाले सोहीअनुसार रुपन्देहीमा सदस्यता नवीकरणलाई तीव्रता दिँदै अधिवेशनको तयारी अघि बढाउने निर्णय गरिएको सचिव ज्ञवालीले बताउनुभयो।

You may also like