बुटवल । युनिटी गाइज बुटवलले बुटवल–११, देउवीनगरस्थित नेपाल अपाङ्ग आश्रममा भोजन वितरण गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा रहेका व्यक्तिहरूलाई भोजन गराइएको हो।
कार्यक्रममा युनिटी गाइज बुटवलका अध्यक्ष सुरज राना मगरको अध्यक्षता तथा नेपाल सरकारअन्तर्गतको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष सुरज राना मगरले समाजमा रहेका असहाय तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए। उनले युनिटी गाइज बुटवलले आगामी दिनमा पनि सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख अतिथि रेशम गुरुङले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए। उनले आश्रममा रहेका व्यक्तिहरूसँग समय बिताउँदै उनीहरूको आवश्यकता र भावनालाई बुझेर गरिने सहयोग अझ महत्वपूर्ण हुने उल्लेख गरे। यस्ता मानवीय कार्यले समाजमा आपसी सहयोग, सद्भाव र एकताको भावना बढाउने उनको भनाइ थियो।
कार्यक्रममा युनिटी गाइज बुटवलका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आश्रममा रहेका व्यक्तिहरूलाई भोजन गराउँदै संस्थाले सामाजिक सेवाप्रतिको आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको थियो।

