पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, पन्थी र केसी पुरस्कृत

by समतल अनलाइन
33Shares

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारणसभा सोमबार बुटवलमा सम्पन्न भएको छ। साधारणसभामा पत्रकारिताको व्यावसायिक मर्यादा, महासंघको संस्थागत विकास, पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका समसामयिक विषयमा छलफल गरिएको थियो।

साधारणसभाको उद्घाटन गर्दै पत्रकार महासंघका केन्द्रीय सदस्य तथा महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष रामराज पोखरेलले अग्रज पत्रकारहरूको योगदानकै कारण अहिले पत्रकारहरूले खुलेर बहस र आफ्ना धारणा राख्न सक्ने वातावरण बनेको बताए। विगतको तुलनामा पत्रकारिताको क्षेत्रमा धेरै परिवर्तन आएको उल्लेख गर्दै उनले पत्रकारिता पेशालाई खिसीट्युरी नगर्न आग्रह गरे।

पत्रकारितामा कमीकमजोरी हुन सक्ने भएकाले त्यसलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै पोखरेलले पत्रकार महासंघ साझा तथा स्वयंसेवी संस्था भएकाले यसको संस्थागत विकास र पारदर्शिता कायम गर्नुपर्ने बताए। ‘भ्युज’का नाममा पत्रकारिताको आधारभूत मर्यादा र सीमाभन्दा बाहिर जान नहुने उनको भनाइ थियो।

महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले आफ्नो कार्यकालमा अग्रज पत्रकारको सम्मान र क्रियाशील पत्रकारलाई जिम्मेवारी दिने गरी काम गरिएको बताए। उनले विभिन्न फेलोसिप तथा तालिम सञ्चालन गरिएको जानकारी दिँदै रुपन्देहीमा पत्रकारिताको जग बसाल्ने अग्रजलाई सम्मान गर्दै उनीहरूले निर्माण गरेको आधारमा थप काम गरिरहेको बताए।

महासंघको कल्याणकारी कोषमा करिब ३० लाख रुपैयाँ रहेको जानकारी दिँदै पाण्डेले कोषलाई थप वृद्धि गर्दै लैजाने बताए। उनले लुम्बिनी प्रदेश सरकारसँग डिजिटल पुस्तकालय र सञ्चार संग्रहालय निर्माणका लागि प्रस्ताव गरिएको जानकारी दिँदै आगामी दिनमा ती कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले ‘मिडिया मन्थन’ तथा राष्ट्रिय सञ्चार सम्मेलनजस्ता कार्यक्रमलाई पुनः सञ्चालन गर्ने पनि बताए।

महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईंले वर्तमान सरकारले पत्रकारिता क्षेत्रका सवाललाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताए। पत्रकार महासंघ र सञ्चारमाध्यमका विषयमा सरकारले गम्भीरतापूर्वक सुन्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष डीआर घिमिरे, शेरबहादुर केसी, सल्लाहकार विनोद परियार, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य र मीना ढकाल, प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल, पत्रकार पूजा पन्थी र माया केसीलगायतले पत्रकारको पेशागत मर्यादा, महासंघको संस्थागत विकास, पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका विविध विषयमा धारणा राखेका थिए।

महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालको स्वागतमा सम्पन्न साधारणसभामा सचिव सीपी खनालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नरेश केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

पन्थी र केसीलाई महिला सशक्तीकरण पत्रकारिता पुरस्कार

साधारणसभाका अवसरमा ‘खेम ओमी पुन महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’बाट पत्रकार पूजा पन्थी र माया केसी सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ रुपन्देही र खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानद्वारा स्थापित उक्त पुरस्कारबाट पन्थीलाई २०८१ र केसीलाई २०८२ को पुरस्कार प्रदान गरिएको हो।

दुवै पत्रकारलाई जनही २१ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। पन्थी दैनिकपत्र दैनिक र बाह्रखरी डटकममा आबद्ध छन् भने केसी बुटवल टुडेसँग आबद्ध छन्। पुरस्कारले पत्रकारितामार्फत महिला सशक्तीकरण र सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानको कदर गरेको आयोजकले जनाएको छ।

You may also like