जापानको गोर्खा पिक अन्तर्राष्ट्रिय विद्यालयमा ‘एडुब्रिज नेपाल–जापान’ शैक्षिक आदानप्रदान कार्यक्रम सम्पन्न

by समतल अनलाइन
31Shares

जापान। नेपाल र जापानबीचको शैक्षिक, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले जापानको चिबास्थित गोर्खा पिक अन्तर्राष्ट्रिय विद्यालय (जीपीआईएस) मा ‘एडुब्रिज नेपाल–जापान : मन, संस्कृति र कक्षाकोठाको सेतु’ शीर्षकको विशेष अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

जापानका समाजसेवी तथा सफल व्यवसायी डिलाराम खरेल अध्यक्ष र फर्सुराम खरेल उपाध्यक्ष रहेको यस विद्यालयले चिबा प्रान्त तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली बालबालिकालाई गुणस्तरीय तथा बहुसांस्कृतिक शिक्षा प्रदान गर्दै आएको छ।

विद्यालयका उपप्रधानाध्यापक प्रकाश ढकालको सञ्चालन तथा आतिथ्यमा सम्पन्न कार्यक्रम नेपाल र जापान दुवै देशको राष्ट्रिय गानबाट सुरु गरिएको थियो।

कार्यक्रममा नेपालका विभिन्न विद्यालयबाट आएका प्रतिनिधिमण्डल तथा अतिथि शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अतिथि शिक्षक सुजन श्रेष्ठ, बिनय श्रेष्ठ, गोविन्दबहादुर धामी, नारायण भट्टराई र प्रशान्त दाहाललाई विद्यालय प्रशासनले सम्मानपत्र तथा विद्यालयको मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो।

उक्त अवसरमा विद्यालयका प्रशासक किशोर शाहीले विद्यालयको परिचय, शैक्षिक अवधारणा र भावी योजनाबारे प्रस्तुति दिनुभएको थियो। त्यसैगरी, अतिथि प्रतिनिधिहरूले पनि आफ्ना अनुभव तथा विचार आदानप्रदान गरेका थिए। विद्यालयका लेखा शाखा प्रमुख श्याम सापकोटाले भूकम्पको समयमा बालबालिकाको सुरक्षा कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनुभएको थियो।

सांस्कृतिक आदानप्रदानलाई थप सशक्त बनाउने उद्देश्यले विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको मुख्य आकर्षणका रूपमा जापानी विद्यालयको अभिन्न अभ्यास मानिने विद्यार्थीहरूले आफ्नै कक्षाकोठा स्वयं सफा गर्ने ‘सोजी’ परम्पराको प्रत्यक्ष अवलोकन गराइएको थियो। साथै, साना विद्यार्थीहरूले विद्यालयको बगैँचाको संरक्षण, सरसफाइ तथा वातावरण जोगाउने गतिविधिसमेत प्रदर्शन गरेका थिए।

कार्यक्रमको अन्तिम चरणमा विद्यालय प्रशासन र नेपालबाट आएको प्रतिनिधिमण्डलबीच भविष्यमा संयुक्त शैक्षिक सहकार्य, प्रविधिमार्फत सञ्चालन हुने सिकाइ आदानप्रदान तथा शिक्षक क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो।

समापन मन्तव्यका क्रममा उपप्रधानाध्यापक प्रकाश ढकालले नेपाल र जापानबीचको सम्बन्ध अनुशासन, सम्मान र गुणस्तरीय शिक्षामा आधारित रहेको उल्लेख गर्दै यस कार्यक्रमले दुई देशका विद्यालयबीच दीर्घकालीन सहकार्यको नयाँ आधार तयार गरेको विश्वास व्यक्त गर्नुभयो।

अन्त्यमा अतिथिहरूप्रति धन्यवाद ज्ञापन गर्दै सामूहिक तस्बिर खिच्ने कार्यक्रम तथा जलपानपछि शैक्षिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो।

You may also like