श्रावणको तेस्रो सोमबार : सिद्धबाबा मन्दिरसहित रुपन्देहीका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो

by समतल अनलाइन
26Shares

बुटवल। श्रावण महिनाको तेस्रो सोमबार आज बिहानैदेखि रुपन्देहीका प्रमुख शिवालयमा दर्शनार्थीको उल्लेख्य भीड लागेको छ। भगवान् शिवको पूजा–आराधना गर्न जिल्लाका विभिन्न स्थानबाट भक्तजनहरू बिहान सबेरै मन्दिर पुगेका छन्।

रुपन्देहीको नयाँगाउँस्थित मुक्तिनाथ मन्दिर, सैनामैना नगरपालिका–स्थित प्ररोहा ज्योतिर्लिङ्ग धाम तथा जिल्लाका अन्य शिव मन्दिरमा बिहानदेखि नै दर्शन, पूजा र जलाभिषेक गर्ने भक्तजनको लाम लागेको छ। बोलबम यात्रु र व्रतालुहरूको चहलपहलका कारण मन्दिर परिसरहरू भक्तिमय बनेका छन्।

श्रावण महिनाका सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने धार्मिक परम्परा रहेकाले प्रत्येक सोमबार मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको छ। मन्दिर व्यवस्थापन समितिहरूले दर्शनार्थीको सहज आवागमन, सुरक्षा तथा पूजा व्यवस्थापनका लागि आवश्यक तयारी गरेका छन्।

यता पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा पनि बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको छ। रुपन्देही ,पाल्पा जिल्लाका श्रद्धालुहरू त्यहाँ पुगेर पूजा–आराधना गरिरहेका छन्।

You may also like