व्यवसाय प्रवर्द्धन कार्यक्रम सम्पन्न : नवउद्यमीलाई व्यावसायिक सशक्तीकरण

by समतल अनलाइन
29Shares

बुटवल। बुटवल उद्योग वाणिज्य संघले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा सञ्चालन गरेको व्यवसाय प्रवर्द्धन कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको छ। कार्यक्रममार्फत नवउद्यमीलाई व्यवसाय सञ्चालन, व्यवस्थापन तथा बजार विस्तारसम्बन्धी व्यावहारिक ज्ञान, सीप र अनुभव प्रदान गरिएको छ।

संघमा सोमबार आयोजित समापन कार्यक्रममा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले उद्यमशीलता विकासका लागि नवउद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले संघले विगतदेखि व्यवसाय उद्भवन (बिजनेस इन्क्युबेसन) कार्यक्रम सञ्चालन गर्दै आएको र यस वर्ष सोही अवधारणाअनुसार व्यवसाय प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

उहाँले यस्ता कार्यक्रमले नवउद्यमीलाई व्यवसाय स्थापना र विस्तारका लागि आवश्यक ज्ञान, सीप तथा आत्मविश्वास प्रदान गर्नुका साथै औद्योगिक विकास र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीका अनुसार २०७६ सालदेखि सञ्चालन हुँदै आएको व्यवसाय उद्भवन कार्यक्रमलाई यस वर्ष औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्यमा व्यवसाय प्रवर्द्धन कार्यक्रमका रूपमा अघि बढाइएको हो। कार्यक्रममा १३ जना नवउद्यमी सहभागी थिए।

उहाँका अनुसार कार्यक्रम अवधिभर सहभागीलाई अनुभवी मार्गदर्शक (मेण्टर) र सहजकर्तामार्फत नियमित परामर्श, सफल उद्यमीबाट व्यवसाय परामर्श, आपसी सञ्जाल विस्तार तथा लेखा व्यवस्थापनलगायत व्यवसाय सञ्चालनका व्यावहारिक पक्षमा प्रशिक्षण प्रदान गरिएको थियो।

समापन समारोहमा सहभागी उद्यमीहरूले आफ्नो व्यवसायको वर्तमान अवस्था, तालिमबाट प्राप्त अनुभव तथा भावी योजनाबारे प्रस्तुति दिएका थिए। नेपालमै उत्पादन हुने को–को चकलेटका सञ्चालक मोहित भुसाल, स्वादिष्ट फुड एन्ड प्याकेजिङकी सुमित्रा अर्याल, अल्बाट्रोस ट्रेजर्सकी सिमरन सुनार, सावित्रा ब्युटी पार्लरकी सावित्रा खत्री, सोनी ब्युटी पार्लरकी सावित्रा थापा, एकीकृत मोरिङ्गा कृषि फार्मकी जानकी घिमिरे तथा दुना–टपरी उद्योगकी बालिका घिमिरेले आफ्ना व्यवसायका अनुभव, तालिमबाट प्राप्त उपलब्धि तथा आगामी योजना प्रस्तुत गर्नुभएको थियो। त्यस अवसरमा सहभागी उद्यमीहरूले उत्पादन गरेका सामग्रीको प्रत्यक्ष प्रदर्शनसमेत गरिएको थियो।

बुटवल उद्योग वाणिज्य संघले २०७६ सालमा पहिलोपटक व्यवसाय उद्भवन कार्यक्रम सुरु गरेको थियो। त्यसयता कार्यक्रमका तीन संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने चौथो संस्करणलाई व्यवसाय प्रवर्द्धन कार्यक्रमका रूपमा सञ्चालन गरिएको हो।

संघका अनुसार अघिल्ला संस्करणका अधिकांश सहभागी नवउद्यमी सफलतापूर्वक व्यवसाय सञ्चालन गर्दै विस्तारको चरणमा पुगेका छन्। यस्ता कार्यक्रमले उद्यमशीलता प्रवर्द्धन, स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

समापन कार्यक्रममा संघका महासचिव मुक्तिप्रसाद अधिकारी, कार्यसमिति सदस्य तथा बुटवल उपमहानगरपालिका–४ का वडाध्यक्ष नरिश्वर शर्मा, संघअन्तर्गत गठित सौन्दर्य सेवा व्यवसाय समितिकी सभापति रेनु कर्माचार्यलगायतले सहभागी नवउद्यमीलाई सफल उद्यमशील यात्राको शुभकामना व्यक्त गर्नुभएको थियो।

You may also like