राष्ट्र बैंकले ३५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

by समतल अनलाइन
32Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्ने भएको छ । बैंकले असार १६ गते (आज अपराहन्न ३ बजे) अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘क’ जारी गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने यसको साँवा २०८४ असार १६ गते फिर्ता गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ ।

यस ऋणपत्रका लागि न्यूनतम ५ करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ । आवेदन ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान रकमसम्म गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । बोलकबोलमा प्रस्ताव गरिएको ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ भने समान ब्याजदर प्रस्ताव भएमा समानुपातिक आधारमा बाँडफाँट गरिने व्यवस्था छ ।

राष्ट्र बैंकले स्वीकृत बोल रकम स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने जनाएको छ । साथै, स्वीकृत रकम निकासा मितिमा सम्बन्धित संस्थाको खाताबाट कट्टा गरिने र खातामा पर्याप्त मौज्दात नभएमा जरिवानासहित छ महिनासम्म खुला बजार कारोबारमा सहभागी हुन नपाइने व्यवस्था पनि गरिएको छ ।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र वैधानिक तरलता अनुपात गणनामा प्रयोग गर्न सकिनेछ, तर अनिवार्य नगद मौज्दातमा भने गणना गरिने छैन ।

You may also like