बुटवल। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकमा दिगो शान्ति सुरक्षा कायम गर्न प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने बताएका छन्। उनले समुदायमा आधारित बृहत्तर सोचको विकास गर्दै सकारात्मक भावना र सहकार्यको संस्कृतिलाई संस्थागत गर्न आवश्यक रहेकोमा जोड दिए।
नेपाल प्रहरी लुम्बिनी प्रदेशले आयोजना गरेको ‘समुदाय–प्रहरी साझेदारी सचेतना कार्यक्रम’को बुटवलमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले सडक दुर्घटना न्यूनीकरण, सामाजिक अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागि प्रत्येक नागरिक सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए।
उनले सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने (मापसे) तथा लागूऔषध सेवन परीक्षण (लापसे), जनचेतनामूलक कार्यक्रम र समुदायमा आधारित विभिन्न अभियान सञ्चालन गर्दै आएको उल्लेख गरे। यद्यपि, अपेक्षित उपलब्धि हासिल हुन अझै बाँकी रहेको उनको भनाइ थियो।
महानिरीक्षक कार्कीले आत्महत्याको बढ्दो दरप्रति पनि चिन्ता व्यक्त गरे। उनले देशमा दैनिक १९ भन्दा बढी आत्महत्याका घटना हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै यसलाई रोक्न व्यापक सहकार्य र जनचेतना आवश्यक रहेको बताए।
उनका अनुसार बेरोजगारी, पारिवारिक अपेक्षा पूरा नहुनु, प्रेम सम्बन्धमा असफलता, वैदेशिक रोजगारी तथा अध्ययनमा अपेक्षित सफलता प्राप्त गर्न नसक्नुजस्ता कारणले विशेषगरी युवाहरू नकारात्मक सोचतर्फ आकर्षित हुने गरेका छन्। यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न युवामा सकारात्मक सोच, आत्मविश्वास र सिर्जनात्मक ऊर्जा विकास गर्न आवश्यक रहेको उनले बताए।
सार्वजनिक सुरक्षा, सामाजिक जिम्मेवारी र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेश प्रहरी कार्यालयले तीनदिने विशेष कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रमअन्तर्गत बुटवलस्थित प्रहरी तालिम केन्द्रमा सुरक्षाका लागि नवीन प्रविधि प्रतिस्पर्धा तथा लुम्बिनीमा शान्ति पदयात्रा आयोजना गरिएको थियो। सोमबार बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सामुदायिक जनचेतना कार्यक्रमसहित समापन समारोह सम्पन्न भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए।
प्रहरी तालिम केन्द्रको बहुउद्देश्यीय हलमा आयोजित ‘सुरक्षाका लागि नवीन प्रविधि प्रतिस्पर्धा’मा प्रविधिमा रुचि भएका युवा, विद्यार्थी, सफ्टवेयर विकासकर्ता, इन्जिनियर तथा नवप्रवर्तनकर्ताहरूको सहभागिता रहेको थियो। आधुनिक सुरक्षा चुनौतीहरूको सामना परम्परागत उपायबाट मात्र सम्भव नभएको उल्लेख गर्दै प्रहरीले प्रविधिको प्रयोगमार्फत सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।
यसैगरी, बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित शान्ति पदयात्रामा विद्यार्थी, नेपाल प्रहरीका अधिकारी, जनप्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको थियो।
समापन समारोह तथा सामुदायिक जनचेतना कार्यक्रममा बढ्दो साइबर अपराध, लागूऔषध दुव्र्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण तथा डिजिटल सुरक्षाजस्ता समसामयिक विषयमा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा सहभागीहरूले सुरक्षित, सभ्य र जिम्मेवार समाज निर्माणका लागि समुदाय–प्रहरी साझेदारीलाई थप सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।


