ममता काफ्ले भट्ट प्रकरणमा नयाँ फरेन्सिक प्रमाण, आराबाट मानव कपाल फेला

by समतल अनलाइन
138Shares

काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासास पार्कबाट नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको झण्डै दुई वर्षपछि यस बहुचर्चित घटनामा नयाँ फरेन्सिक प्रमाण फेला परेको छ।

सन् २०२४ को जुलाई–अगस्टतिर आफ्नै घरबाट रहस्यमय रूपमा बेपत्ता भएकी २८ वर्षीया ममताको खोजी तथा अनुसन्धानका क्रममा एउटा आराबाट मानव कपाल र रौँका नमुना फेला परेका हुन्। भर्जिनियाको फरेन्सिक विज्ञान विभागका अनुसन्धानकर्ताले बरामद गरेका ती प्रमाण अहिले थप परीक्षणको प्रक्रियामा रहेका छन्।

अदालतमा पेश गरिएको नयाँ दस्तावेजअनुसार अनुसन्धान टोलीले उक्त आराबाट संकलित सामग्रीको विस्तृत विश्लेषण गरेको छ। परीक्षणका क्रममा तीनवटा मानव कपाल, १३ वटा कपालका टुक्रा, केही रेशा तथा अन्य सूक्ष्म कणहरू फेला परेका छन्।

अनुसन्धानकर्ताले प्रारम्भिक रूपमा ती सामग्रीको दृश्य परीक्षण (भिजुअल एक्जामिनेसन) तथा स्टेरियो माइक्रोस्कोपी प्रविधिबाट अध्ययन गरेका थिए। त्यसपछि थप वैज्ञानिक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको हो।

अदालतको अभिलेखअनुसार आरामा फेला परेका तीनवटा मानव कपाल ‘न्युक्लियर डीएनए परीक्षण’ का लागि उपयुक्त देखिएका छन्। ती नमुनालाई थप विश्लेषणका लागि फरेन्सिक बायोलोजी शाखामा पठाइएको छ।

यद्यपि, आराबाट बरामद गरिएका अन्य १३ वटा कपालका टुक्रा भने न्युक्लियर डीएनए परीक्षणका लागि पर्याप्त गुणस्तरका नभएको फरेन्सिक अधिकारीहरूले जनाएका छन्। ती नमुनाहरूको समेत राज्यको केन्द्रीय प्रयोगशालामा थप परीक्षण भइरहेको छ।

यस घटनामा ममताका श्रीमान् नरेश भट्ट माथि श्रीमतीको हत्या तथा शव लुकाएको अभियोग लगाइएको छ। उनी हाल हिरासतमा रहेका छन् र मुद्दाको कानुनी प्रक्रिया जारी छ।

अभियोजन पक्षले नरेश भट्टले नै ममताको हत्या गरेको दाबी गर्दै आएको भए पनि हालसम्म ममताको शव भने फेला परेको छैन। सन् २०२४ मा ममता बेपत्ता भएदेखि अमेरिकी प्रहरी र फरेन्सिक विज्ञहरूको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

नयाँ फरेन्सिक प्रमाण फेला परेसँगै अभियोजन पक्षको मुद्दा थप बलियो बन्न सक्ने अपेक्षा गरिएको छ। अब डीएनए परीक्षणको अन्तिम प्रतिवेदन आएपछि घटनासम्बन्धी थप तथ्य सार्वजनिक हुने अनुसन्धानकर्ताहरूको विश्वास छ।

You may also like

This will close in 0 seconds