गठबन्धनको औचित्यबारे कांग्रेसले सोच्ने बेला आयो : एनपी साउद

by समतल अनलाइन

बर्दिया । सत्ता साझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । कांग्रेस बर्दियाले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै साउदले प्रधानमन्त्री ओलीको अभिव्यक्ति कांग्रेस–एमाले सहमति विपरीत भएको भन्दै आपत्ति जनाएका हुन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता साउदले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक रहेको बताए । ‘हामीले गठबन्धन गर्दा नै संविधानमा केही–कमजोरी देखिएका छन् । यसलाई संशोधन गर्ने बुँदा राखिएको छ र प्रतिबद्धता व्यक्त गरेका छौँ,’ साउदले भने, ‘तर, यही सहमतिमा प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले नै ०८७ मा संशोधन गर्ने जुन अभिव्यक्ति दिनुभएको छ, यो सरकार गठनका लागि भएको सहमति विपरीत छ । यसले गठबन्धनको औचित्य र सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक छ ।’

नेता साउदले सरकारलाई जनताका समस्या समाधानका लागि केन्द्रित हुन पनि आग्रह गरे । जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नुपर्नेमा उनको जोड थियो । ‘अहिले कांग्रेस पनि सामेल भएको सरकारले जनताका समस्या समाधानका लागि केन्द्रित हुनुपर्नेमा आग्रह गर्न चाहन्छु । अहिले पनि भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको छैन,’ साउदले भने, ‘जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नु पर्दछ । विकास बजेटको पनि सन्तुलित वितरण र सदुपयोग हुन सकेको छैन ।’

कांग्रेसको कार्यदिशा जनताका अपेक्षा र देशका समस्या समाधान गर्ने भए पनि त्यस्तो हुन नसकेको साउदको भनाइ थियो । ‘पार्टीको एकल सरकार बनाउन सकेका छैनौँ । गठबन्धनको संस्कृतिले पार्टीलाई काँध हाल्ने कुरा मात्रै भएको छ,’ उनले भने, ‘हाम्रो पार्टीको कार्यदिशा भनेको जनताका अपेक्षा र देशका समस्या समाधान गर्ने हो । तर, अहिले त्यस्तो हुन सकेको छैन ।’

 
 
  
 

You may also like